मुख्यमन्त्री कँडेलले दिए राजीनामा

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर छलफलका क्रममा मुख्यमन्त्री कँडेलले पदबाट अलग हुने घोषणा गरेका हुन् ।

प्रदेशसभामा सम्बोधन गर्दै कँडेलले आफू सत्ता जोगाएर बस्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरणका लागि पहल गर्न यसअघि नै आग्रह गरेको पनि बताए । ‘मैले कांग्रेस दलका नेतालाई पहल गर्नुस् भनेकै हो, गठबन्धन हामीले यहाँ बनाएको होइन, माथिबाट बनेकाले माथि नै पार्टीमा छलफल गर्नुस् भनेको थिएँ,’ उनले भने, ‘तपाईंले पहल गर्नुभयो भने म तयार छु भनेकै हो ।’ कँडेलले आफूले सत्ता हस्तान्तरणका विषयमा सकारात्मक धारणा राख्दा पनि कांग्रेस नेतृत्वबाट आवश्यक पहल नभएको दाबी गरे । साथै, सार्वजनिक रूपमा आफूविरुद्ध गरिएका टिप्पणीप्रति उनले असन्तुष्टि पनि व्यक्त गरे ।

यसअघि गत असार ३१ गते सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए । आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले पद त्याग गरेका थिए । मन्त्रीहरूको राजीनामाको भोलिपल्ट कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यामलाल कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला तत्कालीन माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । पछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भई कांग्रेस–एमाले गठबन्धन बनेसँगै २०८१ साल साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको थियो । मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।

यसैबीच, एमाले र नेकपाबीच शनिबार काठमाडौंमा भएको समझदारी अनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,