
सुर्खेत– सुदूरपश्चिम र कर्णाली प्रदेशका गल्लीदेखि उकाली–ओरालीसम्म एउटा रंगमञ्चीय प्रस्तुतिले दर्शकबाट अनपेक्षित प्रशंसा बटुल्यो । काठमाडौं टेकुस्थित ‘कथा घेरा’ नाट्य समूहले चैत ११ देखि ३० गतेसम्म १३ स्थानमा प्रस्तुत गरेको सडक नाटक ‘बाटैबाटो’ को मुख्य थिम थियो–लैंगिक समानता र महिला उद्यमशीलता ।
स्थानीय भाषाशैली, लोकभाकालाई संयोजन गरी प्रस्तुत गरिँदा ‘कथा घेरा’ टिमले प्रत्यक्ष दर्शकको औधी माया पनि बटुल्यो । यसका छोटा–छोटा क्लिपहरु सामाजिक सञ्जालमा भाइरल पनि भए । अझैं रुचाइएका पनि छन् । तर त्यही नाटकका केही अंशहरुप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाए । जसले गर्दा कथा घेराले सडक नाटकको पूर्ण अंश आफ्नो युट्युब च्यानलमा अपलोड गर्न सकेन । सामाजिक सञ्जालमा बढ्दो लाञ्छनापछि नाटकको भिडियो युट्युबमा अपलोड गर्ने योजना रोकिएको छ । उसले आफ्नो फेसबुक पेजमार्फत भिडियो युट्युबमा अपलोड गर्न प्राविधिक रुपले असमर्थ रहेको जनायो ।
नाटक हेर्दा लाग्छ यसले समाजको ऐनाका रुप देखाएको छ । जहाँ महिलाको संघर्ष, उनको अदृश्य श्रम र उनको अस्तित्वको खोज स्पष्ट देखिन्थ्यो । नाटकका टिम लिडर आकांक्षा कार्कीका अनुसार “महिला आर्थिक रूपमा सक्षम भए मात्र सिंगो समाज समृद्ध बन्छ” भन्ने उद्घोष बोकेको नाटकले पुरातन सोचमाथि मात्रै प्रश्न उठाएको थियो । चुल्होे–चौकामा सीमित कर्णाली र सुदुरपश्चिमका अधिकांश महिलाको छविलाई चिरेर स्वतन्त्र अस्तित्वका साथ उभ्याउने प्रयास गरेको थियो ।
सामाजिक सञ्जालमा संवाद र गीतका क्लिपहरु भाइरल भएपनि केही प्रयोगकर्ताले ‘धर्मविरोधी’ लगायतका लाञ्छना लगाउँदा कथा घेराले नाटकको पूर्ण अंश युट्युबमा अपलोड गर्न सकेन
स्थानीय लोकभाकामा नयाँ शब्दहरूको संयोजनले सिँगारिएको गीत, संवादको सजीवता र कलाकारहरूको स्वाभाविक अभिनय यी सबैले नाटकलाई यथार्थको नजिक पु¥याए । यही कारणले गर्दा दर्शकहरूले नाटकलाई केवल हेरेनन्, महसुस गरे । प्रस्तुत गरिएका गीतका छोटा–छोटा क्लिपहरू सामाजिक सञ्जालमा भाइरल बने, जसले नाटकलाई अझ व्यापक बनायो ।
केही भाइरल क्लिपहरू हेरेर कतिपयले अनेक लाञ्छना लगाउँदा कथा घेराको टिम दुखी बनेको छ । विशेषगरी गीतको एक अंश “…देवी भन्दा पहिला मान्छे हुन महिला” ले केही सामाजिक सञ्जाल प्रयोगकर्ताको आपत्ति खेप्नुप¥यो । कतिपयले यसलाई धर्मविरोधी अभिव्यक्ति भन्दै आलोचना गरेका छन् त कतिले “…ढोगिदिनु पर्दैन, पुजिदिनु पर्दैन” भन्ने सन्देशलाई गलत अर्थमा व्याख्या गरे ।
नाटककी टिम लिडर आकांक्षा कार्कीले प्रत्यक्ष प्रस्तुति हेर्दा कतै पनि विरोध नभएको बताइन् । बरु छुटेका दर्शकहरु टाढा–टाढाबाट नाटक हेर्न आएका थिए । काठमाडौं फर्किएपछि भने सामाजिक सञ्जालमा आएका टिप्पणीहरूले उनीहरूलाई अचम्मित बनायो । ‘हामीले बोकेको सन्देशलाई नै तोडमोड गरेर बुझियो,’ उनी भन्छिन्, ‘हाम्रो उद्देश्य केवल महिलालाई ‘देवी’ भनेर टाढा राख्ने, विभेद गर्ने होइन, ‘मान्छे’ भनेर बराबरीको स्थान दिने हो ।’
नाटकको गीत कलाकार भेनिषा आचार्य र रजत थापाले लेखेका हुन् । उनीहरूको भनाइमा गीतले महिलालाई दमन गर्ने वा हिंसा गर्ने नभई पुरुष सरह स्थान दिनुपर्ने सन्देश छरेको थियो । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले धर्मसँग जोडेर आलोचना गरे । कतिपयले त विदेशी एजेन्डा बोकेको आरोप समेत लगाए । ‘हाम्रो टिममा कोही पनि क्रिश्चियन छैनौं,’ कार्की स्पष्ट पार्छिन्, ‘हामीले कुनै धर्मको विरोध गरेका छैनौं, न त कुनै विदेशी अभियान बोकेका छौं, हामी त केवल समाजमा चेतना फैलाउन हिँडेका हौं ।’
नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत सञ्चालित जलवायु परिवर्तनसम्बन्धी परियोजना ग्रेप (दोस्रो चरण) को सहयोगमा प्रस्तुत गरिएको यो नाटकमा कथा, गीत र प्रस्तुति सबै कलाकारकै आफ्नै सिर्जना हुन् । यही स्वतन्त्र सिर्जनालाई केहीले असहिष्णुताका आँखाले हेरेको उनीहरूको गुनासो छ ।




कर्णाली समय । ४ बैशाख २०८३, शुक्रबार १७:१२