राजकुमार शर्मालाई पार्टी र सांसद पदबाट मुक्त गर्ने नेकपाको तयारी

सुर्खेत- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको नीति, विचार र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको भन्दै पत्र प्राप्त भएको चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

नेकपाले पठाएको स्पष्टीकरण पत्रमा केही समययता शर्माले आफू आवद्ध दलको नीति, विचार, सिद्धान्त र दर्शनविरुद्धका गतिविधिमा सक्रिय भई पार्टीको हितविपरीत काम गरेको उल्लेख छ । सामाजिक सञ्जालमार्फत पनि यस्ता गतिविधि पुष्टि भएको भन्दै पार्टीको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका सदस्यको हैसियतले पूरा गर्नुपर्ने जिम्मेवारीसमेत निर्वाह नगरेको आरोप लगाइएको छ । पत्रमा नेकपा विधान २०८२ को धारा १०५ (क), (ख), (घ) र (ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै धारा १०६ (१)(क) बमोजिम प्रक्रिया अघि बढाई धारा १०६ (२) अनुसार पार्टी सदस्यताबाट निष्कासन किन नगर्ने भन्ने प्रश्न गरिएको छ ।

साथै कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०८२ को धारा ९ अनुसार तोकिएका कर्तव्य पूरा नगरेको उल्लेख गर्दै संसदीय दलको सदस्यबाट समेत हटाइनुपर्ने आधार प्रस्तुत गरिएको छ । स्पष्टीकरण पत्रमा संसदीय दलको विधानको धारा ११ (४) र (५) अनुसार संसदीय दलको सदस्यबाट किन नहटाउने भन्ने विषयमा पनि २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिइएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नआए पार्टी विधानअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ । स्पष्टीकरण पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । शर्माले केही दिन अघि संसदीय दलको नेताबाट राजीनामा दिइसकेका थिए ।

पछिल्लो समय उनी जनार्दन शर्मा सहभागी प्रगतिशिल लोकतान्त्रिक पार्टीमा सक्रिय देखिँदै आएका छन् । उनी शर्माको चुनावी अभियानमा समेत संलग्न देखिएपछि नेकपाले पार्टी केन्द्रीय सदस्य र कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने तयारी गरेको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,