
सुर्खेत- सुर्खेतस्थित होटल सिद्धार्थले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार राति विशेष ‘न्यु इअर इभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा चर्चित गायिका आस्था राउतको विशेष सांगीतिक प्रस्तुति रहने होटल सिद्धार्थले जनाएको छ ।
कर्णाली प्रदेशकै स्रष्टा माधव चौलागाईद्वारा लेखिएको तथा कर्णालीको पहिचान, संघर्ष र आत्मसम्मान झल्काउने गीत ‘जुरुक्क उठ्छ कर्णाली’ गाएर व्यापक चर्चा कमाएकी आस्था राउतको प्रस्तुति कर्णालीबासी दर्शक–श्रोताका लागि विशेष आकर्षणको रूपमा रहने अपेक्षा गरिएको छ । आस्था राउतले ‘मत नेपालकी छोरी’, ‘जुरुक्क उठ्छ कर्णाली’ लगायत थुप्रै मन छुने, राष्ट्रिय भावना र सामाजिक चेतनाले भरिएका गीतहरू गाएर नेपाली संगीत क्षेत्रमा आफ्नै पहिचान बनाइसकेकी छिन् । उनका गीतहरूले नेपाली समाज, संस्कृति र पहिचानलाई कलात्मक रूपमा प्रस्तुत गर्ने भएकाले उनको प्रस्तुति कर्णालीबासीका लागि थप गर्वको विषय बन्ने विश्वास आयोजकको छ ।
होटल सिद्धार्थले विगतका वर्षहरूदेखि नेपाली नयाँ वर्ष तथा अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा निरन्तर रूपमा न्यु इअर इभ कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै अझै भव्य र स्तरीय कार्यक्रमको तयारी गरिएको होटल सिद्धार्थका ब्रान्च म्यानेजर कृष्णराम तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा आस्थासंगै चर्चित डीजे अशु, लोकप्रिय उद्घोषक कुमारशम्शेर थापा तथा ‘द समय ब्याण्ड’को समेत प्रस्तुति रहनेछ । विभिन्न विधाका प्रस्तुति समेटिएको यस कार्यक्रममा संगीत, मनोरञ्जन र सांस्कृतिक रंग मिसिएर दर्शकलाई अविस्मरणीय अनुभव दिलाउने लक्ष्य राखिएको छ ।
कर्णालीबासीको गौरवगाथा, संघर्ष र पहिचान समेटिएका गीतलाई विशेष फोकस गरेर कर्णालीको सांस्कृतिक तथा सांगीतिक पक्षलाई अझै उचाइमा पु¥याउने उद्देश्यले गायिका आस्था राउतलाई आमन्त्रण गरिएको तिमिल्सेनाले बताए । यस कार्यक्रमले कर्णालीको कला, संस्कृति र संगीतलाई राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ वर्षको स्वागतसँगै आयोजना हुने यस विशेष कन्सर्टले सुर्खेत तथा आसपासका क्षेत्रका दर्शक–श्रोतालाई मनोरञ्जनसँगै सांस्कृतिक गर्वको अनुभूति दिलाउने विश्वास लिइएको छ । सिद्धार्थ होटेल सुर्खेतमै सबैभन्दा धेरै ६२ रुम भएको पहिलो चार तारे होटेल हो । सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका विभिन्न होटेल, रिर्सोट, क्याफेसहित ३० भन्दा बढी आउटलेटहरु सञ्चालन गर्दै आएको छ ।



कर्णाली समय । १४ पुष २०८२, सोमबार १८:०३