कर्णाली प्रदेशसभा ः संसदीय समितिले आइतबार नेतृत्व पाउँदै

सुर्खेत– कर्णाली प्रदेशसभा अन्तर्गतका चार वटा विषयगत समितिको नेतृत्व चयन प्रक्रिया शुरु भएको छ । प्रदेशसभाको विहीबारको बैठकमा सभामुख नन्दा गुरुङले निर्वाचत मिति घोषणा गर्नुभएको हो ।

मिति घोषणासंगै उहाँले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिनुभयो । प्रदेशसभा सचिवालयका अनुसार समितिको निर्वाचन जेठ १४ गते बिहान ११ बजेबाट प्रारम्भ हुनेछ । कर्णालीमा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको चार महिनापछि यी समितिहरुमा सदस्य चयन भएका थिए । प्रदेशसभाको १५ औं बैठकमा समिति गठन गरिएको हो । प्रदेशसभा नियमावलीमा प्रदेशसभा पहिलो बैठक बसेको तीन महिनाभित्र समिति गठन गरिसक्ने प्रावधान भएकाले नियम निलम्बन गर्दै समितिको नेतृत्व (सभापति) चयनको प्रक्रिया प्रारम्भ भएको हो । प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

प्रदेश मामिलामा कल्याणी खड्का, जानकी सिंह, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार र सुरेश अधिकारी, सार्वजनिक लेखा समितिमा जीतबहादुर मल्ल, जीवनबहादुर शाही, ,तुलसा मल्ल देबेन्द्रबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट र सन्तोषी शाही हुनुहुन्छ । अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, बलिमाया बुढा, विजया बुढा, बिरबहादुर शाही, विनोदकुमार शाह, शेरबहादुर बुढा र हिक्मतबहादुर विष्ट हुनुहुन्छ ।

त्यस्तै सामाजिक विकास समितिमा इन्द्राकुमारी शाही, कलबहादुर हमाल, गोमत विक, घनश्याम भण्डारी, जुमकित लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीवविक्रम शाह रहनुभएको छ ।