सुर्खेत– कर्णालीबाट आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा सोमबार गठबन्धनले कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) समाजवादीका सावित्री मल्ल (दैलेख) माओवादीका विष्णु विक (कालीकोट) ले मनोनयन दर्ता गराएका छन् । रोकाय अन्य, मल्ल महिला र विक दलित कलस्टरका उम्मेदवार हुन् । एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराएको छ । एमालेबाट विमलाकुमारी शाही (हुम्ला), हिक्मत विक (दैलेख) र डिल्लीप्रसाद भट्ट (मुगु) ले मनोनयन दर्ता गराएका हुन् । शाही महिला, विक दलित र भट्ट अन्य कलस्टरका उम्मेदवार हुन ।
कांग्रेस उम्मेदवार रोकाया प्रदेश महामन्त्री हुन् । उनी रोकाया २०७० सालको संविधानसभा निर्वाचनमा रुकुम (१) बाट चुनाव लडेका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडेका उनी दुवै निर्वाचनमा पराजित भएका थिए । रोकाया पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका विक पूर्व शिक्षक हुन् । २०४९ सालमा भएको स्थानीय निकायको चुनावमा मालकोट गाविसको अध्यक्ष निर्वाचित भएका थिए । उनी २०५४ सालमा उनी भूमिगत भएका थिए । विक अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कालीकोट इञ्चार्ज छन् ।
यस्तै, एकिकृत समाजवादीकी उम्मेदवार मल्ल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिका दैलेखको उप–प्रमुखमा निर्वाचित भएकी थिइन् । २०७९ मा भने उम्मेदवार बनेपनि पराजित भएकी थिइन् । उनी एकिकृत समाजवादीकी केन्द्रीय सदस्य हुन् ।
एमाले उम्मेदवार हिक्मत विक भने प्रत्यक्ष निर्वाचन पहिलोपटक लड्दैछन् । उनी एमालेमा लामो समय सक्रिय राजनीति गरेका नेतामा पर्दछन् । नेकपा हुँदा उनी भैरवी गाउँपालिकाको अध्यक्ष थिए । महिला क्लस्टरमा हुम्लाकी विमला शाही हुम्लाको चंखेली गाउँपालिकाको उपाध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावमा सहभागी हुँदा उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अर्का एमाले उम्मेदवार डिल्लीप्रसाद भट्ट नेपाल सरकारको पूर्व कर्मचारी हुन् । सत्ता गठबन्धन मिलेर चुनावमा जान लागेकाले कर्णालीमा यसपटक एमाले शून्य हुने पक्का छ ।
कर्णाली समय । २३ पुष २०८०, सोमबार २०:०६