सुर्खेत–कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार आफ्नो दल नेकपा एमाले र सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका नेताहरुलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिए । मुख्यमन्त्रीले एमालेबाट राज्यमन्त्रीसहित ३ र माओवादीका ३ गरी ६ जनालाई नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारीमा विनोदकुमार शाह र भौतिक पूर्वाधार राज्यमन्त्रीमा गमता विक नियुक्त भए । त्यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा बिरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत र उर्जा तथा जलस्रोतमा रणसिंह परियार नियुक्त भएका छन् ।
मंगलबार नियुक्त भएका एमालेका विनोदकुमार शाहले भने शपथ लिएनन् । रोजेको मन्त्रालय नपाएको र वरियता मिचिएको भन्दै उनी शपथ लिन तयार नभएको निकट स्रोतले बतायो । गत वर्ष प्रदेशसभा निर्वाचनपछि बनेको राजकुमार शर्मा नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारमा शाह आर्थिक मामिला तथा योजनामन्त्री थिए । पछि माओवादी– कांग्रेस गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
मुख्यमन्त्री कँडेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय आफै राखेका छन् । शपथ लिएका मन्त्रीहरुले मंगलबार पदभार ग्रहण गरिसकेका छन् ।

कर्णाली समय । १८ बैशाख २०८१, मंगलवार २०:४४