विपन्न समुदायलाई बैंकिङ सेवामा जोड्न मुख्यमन्त्री शर्माको आग्रह

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुर्गम क्षेत्रका बासिन्दालाई बैंकिङ सेवा प्रवाहमा जोड्न आग्रह गर्नुभएको छ । नेपाल बैंक लिमिटेडको मंगलबार वीरेन्द्रनगरको ऐरीचोकस्थित शाखा उद्घाटन गर्दै उहाँले वाणिज्य बैंकहरुले दुर्गम लक्षित सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।


मुख्यमन्त्री शर्माले कर्णालीमा राजनीतिक रुपले संघीयता आएपनि प्रशासनिक र वित्तीय संघीयता आउन नसकेको टिप्पणी गर्नुभयो । ‘दुर्गमका नागरिकलाई बैंक तथा वित्तीय पहुँचमा जोड्न सके सामाजिक र आर्थिक रुपले प्रगति हुनेछ,’ उहाँले भन्नुभयो, अझैंपनि कर्णालीका दुरदराजमा बैंक तथा वित्तीय संस्थाहरु पुग्न सकेको अवस्था छैन्, त्यहाँ गरिब र विपन्न समुदायलाई छुन सकेको अवस्था छैन् ।’ साथै उहाँले ब्याजदर घटाई सहुलियत कर्जालाई प्रभावकारी बनाउन समेत सुझाव दिनुभयो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पनि बैंकहरूलाई दुर्गम क्षेत्रलक्षित सेवा प्रवाहमा लाग्न जोड दिनुभयो । अहिले पनि बैंकहरू शहरी क्षेत्रमा बढी केन्द्रित भएको उल्लेख गर्दै उहाँले कर्णालीका दुर्गम क्षेत्रमा सेवा विस्तार गर्न आग्रह गर्नुभयो । बैंकको कर्जा प्रवाह पनि उत्पादनकेन्द्रित हुनुपर्नेमा उहाँको भनाई थियो । ‘हिमाली, पहाडी जिल्लामा पनि सेवा र शाखा विस्तार गर्नुस्, त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने आवश्यक समन्वय गर्नेछ, मन्त्री सिंहले भन्नुभयो, उत्पादन र व्यवसायिकरणमा जोड दिनुस, दुर्गमका जनताको आवाज सुन्नुस् ।’

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले आफ्ना सेवाग्राहीलाई सरल, गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यले सुर्खेतमा शाखा विस्तार गरिएको प्रष्ट पार्नुभयो । त्यस्तै बैंकका कर्णाली तथा सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख विश्वराज भण्डारीले कर्णालीमा कृषि, जलविद्युत र पर्यटनका क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै आफूहरूले यस्ता क्षेत्रमा लगानी गर्ने जनाउनुभयो । शाखा प्रमुख बालाराज बुढाले कर्णालीबासीको आयस्रोतलाई मध्यनजर गर्दै सरल र व्यवसायिक कर्जा प्रवाहमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । विसं १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेडका कर्णाली प्रदेशमा हाल १२ वटा शाखा कार्यालय छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,