तिलगाउँ विस्थापनः हिमताल फुटेर बाढी आयो, सरकार आएन

सुर्खेत– घटना जेठ १ गते राती १०ः३० बजेतिरको हो । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ तिलगाउँका बासिन्दा कोही निदाइसकेका त कोही निदाउने तरखारमा थिए । एक्कासी बस्ती नजिकको तिल्चुङ खोलामा ढुंगामाटोसहितको ठूलो बाढी आयो ।

त्यहाँ १९ घरधुरीका ३२ जनाको भागाभाग भयो । गुजुमुज्ज परेका घरमा समयमै बाढीपहिरोको सूचना पुग्दा तिलगाउँमा मानवीय क्षति हुन पाएन । स्थानीयबासीको त्यो रात खुलाचौरमा जाग्राम भएर बित्यो । त्यसपछि यता हिमशिखर आधारभूत विद्यालय नजिकै आश्रय लिइरहेका छन् । विस्थापित हुनेहरुमा २१ पुरुष, ९ महिला र २ बालबालिका छन् ।

पानी परिरहेको छैन । आकाश सफा छ । तर बाढी आयो । स्थानीय रातभर सशंकित भए । के कारणले बाढी आयो स्थानीयले पत्तो पाएनन् । जेठ ४ गते नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर लामाको नेतृत्वमा पाँच जना युवाको टोली कारण पत्ता लगाउन उक्लियो । आठ घण्टा हिँडेर उनीहरु ठग्रा नाग्ना भन्ने स्थानमा पुगे । जहाँ दुई वटा हिमताल भास्सिएर लेदोसहितको पानी बगेको देखे । घटनाको चार दिनपछि स्थानीयले पत्ता लगाए तिलगाउँ विस्थापनको कारण ।

सञ्चारमाध्यम र संघीय संसदमा हुम्ला नाम्खाको बाढीले चर्चा पाइसकेको थियो । काठमाडौंमा जलवायु परिर्वतन, हिमाल र मानव जातिको भविष्यसम्बन्धी विषयमा विश्वको ध्यानाकर्षण गराउने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद चलिरहेकै बेला हुम्लामा हिमताल फुटेको खबरले एकाएक सबैको ध्यान तान्यो । जतिबेला विस्थापितको उद्धार र उनीहरुसमक्ष राज्यले राहत सामग्री दिन सकेको थिएन । खाद्य सामग्री नपाएर भोकभोकै त्रिपालमुनी बस्न बाध्य पीडितहरुको सवाल सञ्चारमाध्यम र संघीय संसदमा उठिसक्दासमेत राज्यले बेवास्ता गरिरह्यो । तिलगाउँबासी विस्थापन भएको एक साता बितिसक्दासमेत अझैं संघीय र प्रदेश सरकार त्यहाँ उपस्थित हुन सकेको छैन् । घटनाको सातौं दिन बल्ल जिल्ला विपद् व्यवस्थापन समितिले घोडाबाट राहत सामग्री पठायो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण पाण्डेका अनुसार नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङबाट गाडीमार्फत राहत सामाग्री हल्जीसम्म लगिएको थियो । हल्जी गाउँबाट बोकेर आधा स्थानमा लगिएको थियो । त्यसपछि तिलगाउँबाट आएका घोडाबाट उक्त सामाग्री पु¥याइएको थियो । बाढीले तिलगाउँ जोड्ने यातायातविच्छेद गरेको छ । प्रजिअ पाण्डेले विस्थापितले घरमा भण्डारन गरेको खाद्य सामग्री उपयोग गरिरहेको र राती सुत्नमात्रै विद्यालयमा आउने गरेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न निकायसंग समन्वय गरेर चामल, नुन तेल, दाल, चिउरा, भुजा, चिया, आलु, साबुन, औषधि पठाएको छ । खानेपानी आयोजना मर्मतका लागि पाइप र सिमेन्ट पनि पठाइएको छ । राहत सामग्री लिएर नाम्खाका गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा बुधबार आफै तिलगाउँ पुगेका हुन ।

हिल्साबाट खटिएको प्रहरी टोलीले क्षतिको लगत संकलन गरेर फर्किएको छ । केही व्यक्तिका घरहरु चर्किनुका साथै जलविद्युत आयोजना, खानेपानी लाइन, धर्मशालामा ठूलो क्षति पुगेको छ । बाढीले हिल्सा जाने सडकका साथै तिलगाउँ जाने सडकमा पनि क्षति पु¥याएको छ । पाँच वटा काठेपुल बगाएको छ । खुला आकाशमुनी बसेका तिलगाउँबासी धमिलो पानी पिउन बाध्य छन् । चिसो र धमिलो पानीका कारण विस्थापितहरुमा बिरामी हुने चिन्ता छाएको छ । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर लामाले आफूले सूचना पाएलगत्तै राहत र उद्धारका लागि माथिल्ला निकायमा खबर गरेपनि तत्काल सुनुवाइ नभएको गुनासो गर्दै भने, ‘ढिलै भएपनि सातौं दिनमा बल्ल जिल्लाबाट राहत सामग्री आइपुग्यो ।’

हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको टोलीले घटनालगत्तै छिमेकी जिल्लाका मुगुका नेता वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई जलवायुजन्य प्रकोपमा परेकालाई तत्काल राहत उपलब्ध गराउन माग गरेका थिए । सोमबार राष्ट्रिय विपद् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रभावित क्षेत्रका नागरिकलाई तत्काल हेलिकोप्टरमार्फत राहत उपलब्ध गराउन निर्देशन त दिए । तर उक्त निर्देशन उनकै मातहतको निकायले टेरेन । प्राधिकरणबाट तीन जना प्राविधिक टोली बुधबार नेपालगञ्ज पुगेको छ । मौसम अनुकुल भए विहीबार उक्त टोली नेपालगञ्ज्बाट हुम्ला सिमकोटका लागि उड्नेछ । जलवायुजन्य प्रकोपबाट प्रभावितलाई राहत सामग्री उपलब्ध गराउन संघीय सरकारले गरेको बेवास्ताप्रति स्थानीयस्तरमा आलोचना भएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,