ज्ञान कर्णाली हाफ म्याराथनको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

सुर्खेत– वीरेन्द्रनगरमा शनिबार बिहान हुने प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा प्रतियोगिता बिहान ७ बजेदेखि शुरु हुनेछ ।

मंसिरमा आयोजना हुने दशौं बृहत राष्ट्रिय खेलकूदलाई प्रर्वद्धन गर्ने उद्देश्यले कर्णाली हाफ म्याराथन सञ्चालन गर्न लागिएको हो । म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको छ । म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्ने कार्यक्रम छ । म्याराथन घण्टाघर क्षेत्रबाट शुरु हुनेछ ।

म्याराथनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रेस नेपालका अध्यक्ष टीएस ठकुरीले म्याराथनमा दौडिन राष्ट्रिय रूपमा स्थापित धावकहरूले नाम दर्ता गराइरहेको बताए । नेपालगञ्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरेका हौं, उनले भने, पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई क्रमिक रूपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रर्वद्धन गराउने इभेन्टका रूपमा स्थापित गराउनेछौं । कर्णाली म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र विश्व म्याराथनको छातामूनी लैजाने उनको भनाई छ ।

प्रतियोगितालाई कर्णाली प्रदेश खेलकुद विकास परिषद, वीरेन्द्रनगर नगरपालिकाका साथै अन्य स्थानीय पालिका र निजी क्षेत्रको आर्थिक सहयोग छ । कर्णाली हाफ म्याराथनका संयोजक देवकुमार सुवेदीले कर्णालीको खेल क्षेत्रको सम्भावना म्याराथन भएकाले यसलाई आगामी वर्षहरुमा निरन्तरता दिइने बताए । निजी क्षेत्रबाट हुने विभिन्न खेल गतिविधिले कर्णालीमा समग्र खेलकूद क्षेत्रको विकासका साथै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कर्णाली हाफ म्याराथनका सहसंयोजक तेजविक्रम बस्नेतले खेल प्रतिभाको पहिचान र उनीहरुको प्रोत्साहनका लागि प्रतियोगिता जरुरी रहेको धारणा राखे । विश्व विजेता धावक हरिबहादुर रोकायाले कर्णालीमा खेल क्षेत्रको विकास हुँदा खेलाडीहरुले अवसर पाउने बताए ।

रेस नेपालका अनुसार म्याराथन विजेता महिला तथा पुरुषलाई समान ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई समान २० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिनेछ । हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेट तर्फका विजेतालाई विशेष प्याकेजद्वारा पुरस्कृत गरिने बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,