सुर्खेत– वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष विनोदसिं विष्ट धरौटीमा रिहा भएका छन् । विष्टलाई उच्च अदालत सुर्खेतले विहीबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उपभोक्ता समितिको रकम जफत गरेको आरोपमा जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
जिल्ला अदातलले पुर्पक्षका कारागार चलान गरेका सुशिल गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाहीलाई पनि रिहा गर्न आदेश दिएको छ । उच्च अदालत सुर्खेतका सूचना अधिकारी विनोद आचार्यका अनुसार गुरूङबाट चार लाख र शाहीबाट दुई लाख धरौटी माग गरिएको छ ।
वडाध्यक्ष विष्टसहित तीन जनालाई साउन २१ गते सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले डाँका चोरी अभियोगमा अनुसन्धान अघि बढाएको थियो । असार २४ गते वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

कर्णाली समय । १८ आश्विन २०८०, बिहीबार १९:१३