कर्णालीबासी मधेशीको अनुभव, ‘मधेशभन्दा यहाँ राजनीतिक संस्कार छ’

सुर्खेत– अधिकांश मधेशी समुदायको पहाडियाप्रति सधैं एउटा गुनासो रहन्छ, हामीलाई ‘देसी’भनेर हेपिन्छ, इन्डियन (भारतीय) को बिल्ला भिराइन्छ । लामो समयदेखि कर्णाली प्रदेशलाई कर्मभूमी बनाएका मधेशी समुदायका प्रतिनिधिले भने कर्णालीमा त्यस्तो विभेद भोग्नु नपरेकोमा गर्व गरेका छन् ।

तराई मधेशका विभिन्न जिल्लाबाट कर्णालीमा विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा आइपुगेका उनीहरु केही दिन अघि एकै थलोमा भेटिए । अनुभव सुनाए । कार्यक्रम थियो, कर्णाली उत्सव, कुडा कर्णालीकाको छैटौं संस्करण अन्तर्गत ‘कर्णालीमा मधेश’ सेसन । मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक इन्जिनियर हरिनारायण यादवले सहजीकरण गरेको उक्त सेसनमा सहप्राध्यापक डा विनयकुमार दास, प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाई संघ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुरले मधेसबाट आएर कर्णालीमा बस्दाका अनुभव सुनाए ।

२०४७ सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्राध्यापनका लागि सुर्खेत आइपुगेका सहप्राध्यापक विनयकुमार दासले मधेशमा भन्दा कर्णालीमा राजनीतिक कल्चर राम्रो रहेको बताए । ‘जुनसुकै पार्टीको भएपनि मेलमिलाप, आपसी समन्वय राम्रो छ, म आएको बेला भर्खर बहुदल आएको थियो, उनले भने, ‘त्यतिखेरदेखि हेर्दै आएको छु, यहाँ राजनीतिक दलहरुले मिलेर काम गरेको देख्छु, तर मधेशमा त्यस्तो देख्दिनँ ।’ मधेशको राजर्षी जनक विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय एकै दिन स्थापना भएपनि राजर्षी जनकभन्दा मध्यपश्चिमले राम्रो प्रगति गरेको टिप्पणी गरे । मधेशमा राजनीतिक संस्कार र राजनीतिक प्रणाली राम्रो नहुँदा त्यहाँका सार्वजनिक संस्थाले प्रगति गर्न नसकेको उनको भनाई थियो ।

‘कर्णालीको हावापानी राम्रो छ, न ज्यादा गर्मी न चिसो, मानिसहरु पनि मानिसहरु पाएँ, हामीलाई मधेशी विभेद छैन्, दासले भने, ‘अलि मधेसको भन्दा कर्णालीका विद्यार्थीहरु कम अध्ययन गर्ने पाएँ, पढाइलाई त्यति महत्वको दिएको पाइनँ ।’ सुर्खेतको बराहतालस्थित नेपाल राष्ट्रिय प्रावि स्याउलेका प्रधानाध्यापक श्रवणकुमार शर्माले कर्णालीमा शिक्षक, कर्मचारीलाई काम गर्ने राम्रो वातावरण रहेको बताए । २०७२ साल मंसिरदेखि सुर्खेत कार्यक्षेत्र बनाएका सप्तरीका उनले आफूलाई कर्णाली छाडेर मधेश जान मन नलागेको बताए । ‘मलाई सुर्खेत भन्दा त बराहताल छाड्न मन लाग्दैन, धेरैले माया गर्नुहुन्छ, मैले विभेद कहिल्यै खेपिन, उनले भने ।

वीरेन्द्रनगरमा २०४६ सालदेखि हजाम व्यवसाय सञ्चालन गर्दै आएका महोत्तरीका अर्जुन ठाकुरले आफूले मधेशी समुदायका रुपमा कुनै प्रकारको विभेद भोग्नुनपरेको बताए । ‘हामीलाई कुनै विभेद छैन्, यहाका मानिसहरु असाध्यै मिलनसार, सहयोगी पाएको छु, उनले भने, कर्णालीबासीको अगाध मायाकै कारण मधेश जान मन लाग्दैन् ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,