नेटवर्किङ ठगीमा संलग्नलाई थुनामा पठाउन आदेश

सुर्खेत– जिल्ला अदालतले प्रतिबन्धित नेटवर्किङ व्यवसायमार्फत ठगी कार्यमा संलग्न दुई युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधिश दीपक ढकालको इजलासले सुर्खेतको वीरेन्द्रनगर ४ मुलपानीस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक तथा कर्मचारी रहेका २ लाई थुनामा राख्न तथा बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले स्काई ड्रिम इन्टरपेनर्सका सञ्चालक सायल गाउँपालिका २ डोटीका नरेश बोहोरा र बेलडाँडी १ कञ्चनपुरका निर्मला धामीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अन्य ६ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको छ । धरौटीमा छाडिएकाहरुमा महाकाली गाउँपालिका ४ दार्चुलाका कृष्ण धामी, कमलबजार नगरपालिका ६ अछामका कमल शाही, रवीन्द्र शाही, महाकाली नगरपालिका २ दार्चुलाका मनिषा सिंह, सिगास गाउँपालिका ६ बैतडीका सुनिता साउद र बडिकेदार गाउँपालिका ४ डोटीका चिमाला रहेका छन् ।

रोजगारीको प्रलोभनमा बेरोजगार युवाहरुबाट पैसा संकलन गरी ठगी गरेको सूचना पाएपछि प्रहरीले स्काई ड्रिमको कार्यालयमा छापा हानेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान थालेपछि पीडितहरु धमाधम सम्पर्कमा आएका थिए । स्काई ड्रिम इन्टरप्रेनर्सले ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाइ आकर्षक तलब सुविधाको प्रलोभन दिएपनि रोजगारी नदिँदा पीडितहरुले ठगिएको थाहा पाएका थिए । ५१ जना युवाहरुले ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
सुर्खेत प्रहरीले ६४ लाख विगो र कैद सजायको माग गर्दै २७ साउन २०८२ मा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अदालतले ठगीको आरोप लागेका मनिषा सिंहसँग ७ लाख ५० हजार, कमला चिमालासँग ६ लाख, कमल शाहीसँग ५ लाख, कृष्ण सिंहसँग १ लाख २५ हजार, सुनिता साउदसँग २५ हजार, रवीन्द्र शाहीसँग १० हजार धरौटी मागेर छाड्न आदेश दिएको हो ।

यता, धरौटी मागेर छाड्न भनिएकाविरुद्ध पुनः प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी परेपछि ६ जना नै कारागारमै रहने जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।