प्रकाश अधिकारी/सुर्खेत-नेपाल सरकारको आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १६ मा राष्ट्रिय गौरवका आयोजनाहरू १० वर्षभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले एक दशक बढी समय पार गरिसक्दा समेत लक्ष्य हासिल गर्न सकेको छैन् । हालसम्म आयोजनाले ६९ प्रतिशत मात्र समग्र प्रगति हासिल गरेको छ ।
सरकारले आव २०६८/६९ देखि भेरी–बबईलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गरेको थियो । आयोजनाको निर्माण कार्य सुरु भने आव २०७१/७२ देखि भएको थियो । सुरुङ (टनेल) निर्माणमा ‘ब्रेक थु्र’ गरेको आयोजनाको त्यसयताका प्रगति भने सुस्त छन् । नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी चिनियाँ कम्पनीले सुरुङ खनेको थियो । कम्प्युटरजडित स्वचालित प्रविधिबाट पहिलो चरणमा सुरुङ निर्माण गरिएको थियो । जुन तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न गरेर प्रसंशा बटुलेको थियो ।
आयोजना कार्यालयले गत आवसम्म वित्तीय प्रगति ५४ दशमलव ८२ र ठेक्का सम्झौता अनुसार ६८ दशमलव ६३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाखमध्ये १८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ । आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिजियर (सिडिई) पवन अधिकारीले गत आवमा आयोजनाका लागि एक अर्ब ८० करोड १९ लाख रुपैयाँ विनियोजन भएकामा वार्षिक लक्ष्यको ९८ प्रतिशत भौतिक र ९५ दशमलव ४२ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा कुल विनियोजित बजेट मध्ये एक अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।
हाल आयोजनाको दोस्रो र तेस्रो चरणका कामहरु सञ्चालित छन् ।
दोस्रो चरणमा सिभिल निर्माण तथा तेस्रो चरणमा बाँध र विद्युत् गृहका लागि आवश्यक हाइड्रोमेकानिकल (एचएम) र ईलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी कार्यहरु पर्दछन् । आयोजनाको बाँध र विद्युत्गृह निर्माण कार्य चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभीले गरिरहेको छ । २०७६ साउनमा ठेक्का सम्झौता भई २०७९/८० मा कार्य पुरा गर्ने कार्यादेश पाएपनि निर्माणमा भएको ढिलाईले म्याद थप गरिएको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार आयोजनाको निर्माण कार्य आव २०८४/८५ मा सम्पन्न गर्नुपर्नेछ ।
आयोजनाको बाँधस्थल भेरीगंगा नगरपालिका ११ चिप्लेमा अवस्थित छ । त्यहाँबाट १२ दशमलब २१० किमी सुरुङमार्फत भेरी नदीलाई डाइभर्ट बबईमा खसालिनेछ । जहाँ ४६ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हेक्टर क्षेत्रमा सिचाइँ सुविधा पु¥याइनेछ । हाल चिप्लेमा बाँधको जम्मा ६ वटा ब्यारेज मध्ये बे–१ र २ को स्पिलवे र स्टिलिङ बेसिन संरचनाका साथै स्टिलिङ बेसिनको जम्मा ६ बे मध्ये दुई वटाको ढलान तथा कङ्क्रेटिङ गर्ने कार्य जारी छन् । इन्टेक ग्राभेल ट्रयाप, फोरबे, लेफ्ट ब्याङ्क गाइड वाल लगायतका संरचनाको निर्माण कार्य जारी रहेको जनाइएको छ । त्यस्तै सर्जसाफ्ट निर्माणस्थलमा स्लोभ संरक्षण गरी कोलर बिम ढलान भई सफ्ट खन्न सुरु भएको छ । विद्युत गृह निर्माणस्थलमा उत्खनन् कार्य सम्पन्न भएर जगको परीक्षण भई राफ्ट जग ढलान कार्य सुरु हुन लागेको छ ।
स्पिलवे पियर को बे १ र २ को डिजाइन स्वीकृत भई ढलान कार्य सम्पन्न भएको छ । हाइड्रोमेकानिकल अन्तर्गतका संरचनाको डिजाइन स्वीकृतदेखि ईलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण उपकरणहरु निर्माणस्थलमा आईसकेको जनाइएको छ । विद्युत् प्रशारण लाईन सम्बन्धमा विस्तृत सर्वेक्षण रिपोर्ट प्राप्त भई अध्ययन सहमतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ । आयोजनाका लागि आवश्यक ३३ हेक्टर जग्गा मध्ये हालसम्म १५ दशमलव ७९ हेक्टर प्राप्त भएको छ भने बाँकी प्राप्तिको प्रक्रियामा रहेको जनाइएको छ ।
आयोजनाका सूचना अधिकारी सिडिई अधिकारीले लक्ष्य अनुसार प्रगति हासिल नहुनुमा कोरोना भाइरस महामारी, कार्यक्रम संशोधन, बजेट स्रोत सहमतिमा ढिलाइ, प्रसारणलाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारमा सहमति प्राप्त हुन ढिलाइ हुने जस्ता समस्या मुख्य रहेको बताए । यसका साथै आयोजना निर्माणका लागि ठूला यन्त्र, उपकरणका पार्टपुर्जा तथा निर्माण सामग्रीको व्यवस्थापन र ढुवानीका लागि मास्टर लिष्ट स्वीकृतिमा ढिलाइ हुने, विद्युत ऐनले सुविधा सिफारिस गरेका निर्माण सामग्री, उपकरण लगायतका सामग्री भन्सारमा आईपुग्दा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नहुने समस्या झेलिरहेको सूचना अधिकारी अधिकारीको भनाई छ ।
आयोजनामा पर्ने समस्या तत्काल समाधान गर्न सक्ने विशेषज्ञ टोली परिचालनको व्यवस्थान नहुनु, आयोजनासँग सम्बन्धित प्रविधि हस्तान्तरण, अनुसन्धान तथा विकास जस्ता विषयमा पर्याप्त ध्यान नजानु, वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा काम गर्न प्रक्रियागत जटिलताका कारण आयोजनाले अपेक्षित गति लिन नसकेको हो ।

कर्णाली समय । ८ भाद्र २०८२, आईतवार १२:२०