सुर्खेत– प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी घाइते भएकाहरुको अवस्था सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी घाइतेहरुको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिएको हो ।
प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ । अस्पतालले घाइतेहरुलाई वर्गीकरण गरी उपचार गरेको छ । उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, १ जना न्यूरो आइसियू भेन्टिलेटरमा, १ आइसियूमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा जाजरकोटका भेरी, बारेकोट र नलगाड, कुशे, जुनीजाँदे, छेडागाड र रुकुम पश्चिमका चौरजहारी, सानीभेरी, आठबिसकोट र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरु उपचार गरिएको छ । तीमध्ये १७ जना पुरुष र १८ जना महिला रहेका छन् । अस्पतालमा ५ वर्ष मूनीका ६ जना बालबालिकाको उपचार भइरहेको भने ५ जनाको शल्यक्रिया गरिएको छ ।
अस्पतालका निर्देशक खड्काले घाइतेहरुको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताए । अस्पतालले भूकम्प प्रभावित क्षेत्रमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रबिन केसी, डा सुलभ श्रेष्ठ, हेल्थ असिस्टेन्ट विकास बुढाथोकी, विकास रोकाया र फार्मेसी सुपरभाइजर सुरज लुहारलाई जाजरकोट खटाएको थियो । सुर्खेत विमानस्थल ल्याइएका घाइतेहरुलाई अस्पतालका तीनवटा एम्बुलेन्समार्फत अस्पताल ल्याउने व्यवस्था मिलाइएको थियो ।
कर्णाली समय । २३ कार्तिक २०८०, बिहीबार १३:३५