जसले कर्णालीमै खोले लागत र प्रविधिका हिसाबले ठूलो उद्योग

सुर्खेत– २०७४ असोजमा सपरिवार रारा घुम्न आएका थिए, काभ्रे पाँचखालका जयकृष्ण सापकोटा र माधव धिताल । कर्णाली राजमार्ग हुँदै रारा जाँदा फर्कँदा उनीहरु सुर्खेत बास बसे । त्यतिबेला सुर्खेत प्रदेशको राजधानी बन्ने क्रममै थियो । अर्थात राजधानी बन्ने निश्चितजस्तै थियो । काभे्र पाँचखालमा ३२ वर्षदेखि डेरी सञ्चालन गर्दै आएका यी दुई युवाले कर्णालीलाई नयाँ गन्तव्य बनाउने सोच बनाए ।


पाँचखालबाट दैनिक २० हजार लिटर दुधबाट ४० हजार दूध, दहीको प्याकेट बनाएर काठमाडौं पठाउँछन्, ‘अर्पण ब्राण्ड’का नाउबाट । जयकृष्ण र माधव काठमाडौं पुगेर पुनः सुर्खेत फर्किए । ‘यहाँ डेरीको अवस्था, दूध संकलन, बजार, लगानी लगायतका सबै पक्षबारे अध्ययन गर्दै १५ दिन बितायौं,’ जयकृष्ण भन्छन्, ‘वीरेन्द्रनगरमा व्यवसायिक रुपमा डेरी सञ्चालन भएका थिएनन्, लेबलिङ, प्याकेजिङ गरी गुणस्तर परीक्षण गर्ने कुनै डेरीले दुध बेच्थेनन्, सबै मापदण्ड पुरा गरेर अत्याधुनिक प्रविधिको उद्योग सञ्चालन गर्ने टुंगोमा पुग्यौं ।’ त्यसपछि उनीहरुले काठमाडौं फर्किएर सुर्खेत डेरी उद्योग प्रालि दर्ता गरे ।

२०७४ फागुनदेखि जयकृष्ण र माधव संयुक्त लगानीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रको २ रोपनी जग्गामा उद्योग स्थापनाको तयारीमा जुटे । कम्पनी खोल्नदेखि, भवन बनाउन, मेसिन औजार खरिद जडान, गाडी लगायतमा १७ करोड खर्च भइसकेको छ । २३ महिनाको तयारीपछि २०७७ बैशाखदेखि सुर्खेत डेरी उद्योगले ‘रारा ब्राण्ड’का नाउबाट दुग्धजन्य पदार्थको उत्पादन, बिक्री वितरण थालेको हो । राराताल घुम्न आउँदा उद्योग खोल्ने सोचमा पुगेको, राराताल नेपालकै प्रमुख गन्तव्य भएको र रारा सबैको जनजिब्रोमा बसेकाले यसको थप प्रवद्र्धनका लागि उत्पादनको नाउ नै ‘रारा’ दिने निर्णयमा पुगेको जयकृष्ण बताउँछन् ।

डेरी उद्योगको भौतिक संरचना तयार भयो । तर सुर्खेतमा दुध थिएन । शुरुमा दैनिक २० लिटर दुध संकलन हुन्थ्यो । किसानमा घरघरमा गएर दुध बेच्ने मानसिकता थियो । ‘शुरुवातमा काभ्रेबाट दुध ल्याएर उद्योग चलायौं, सुर्खेतमा दुध थिएन, उता (काभ्रेमा) कोभिडले दुध बिकेको थिएन,’ उनी भन्छन्, ‘आफ्नै ‘ट्यांकर थियो, एक वर्षसम्म काठमाडौंबाटै दुध ल्याएर डेरी चलाइयो, अहिले दुध संकलन केन्द्र पनि बढेका छन् ।’ हाल २५ केन्द्रबाट गरी ४०० लिटर दुध संकलन हुँदै आएको छ । दुधको गुणस्तरका आधारमा प्रति लिटर ६० देखि १२० रुपैयाँसम्म किसानले पाउने गरेका छन् ।

दैलेखको गोगनपानीदेखि पश्चिम सुर्खेतको गुटु र उत्तर पूर्वमा पर्ने रानीबासदेखि गुमी जहरेसम्म दुध संकलन गर्ने गरिन्छ । सुर्खेतमा दुध उत्पादनमा कमी आए दैलेख र बर्दियाबाट समेत ढुवानी गर्ने गरिएको छ । ती केन्द्रबाट दैनिक ५ हजार लिटर संकलन गरिन्छ । जसमध्ये ३००० लिटर दुधबाट ५ हजार प्याकेट दुध, १ हजार लिटरबाट २ हजार प्याकेट मोही, १ हजार लिटर दुधबाट २ हजार प्याकेट दही बजारमा पठाउने गरिन्छ । उद्योगले ३६५ दिनमै दुध किन्ने वातावरण बनाएको छ । यहाँ बढी भएको दुध पाउडर बनाएर काठमाडौं पठाउने गरेको छ । डेरीले डिलरलाई ८४ र उपभोक्ताले प्रति लिटर ९० रुपैयाँमा दुध पाउँछन् । सरकारले बढाएको मुल्यमा दुध बेच्ने डेरीको तयारी छ ।

उद्योगले प्रत्येक दिन लेबलिङ, गे्रडिङ, गुणस्तर जाँच गरेर प्याकेटमा उत्पादन मिति राखेर बजार पठाउने गर्दछ । ‘सहरको पैसा गाउँ जाने भनेकै दुधको पैसा हो, त्यो प्रत्यक्ष किसानको हातमा पुग्छ,’ जयकृष्ण भन्छन्, ‘पहिले घर–घर लगेर बेच्नुपथ्र्यो, उपभोक्ताले चाहेको बेला पाउन गाह्रो थियो, अहिले बजारीकरणलाई ध्यान दिएका छौं ।’ लेबलिङ, प्याकेजिङजस्ता कुराहरु अहिले सुर्खेत डेरीबाटै अन्य डेरीले पनि सिक्दैछन् ।

सुर्खेत डेरीले वार्षिक सरदर १० करोड कारोबार गर्दै आएको छ । उद्योगका अनुसार ३ वर्षमा ३ करोड घाटा बेहोरेको छ । विद्युत्को भोल्टेज लो हुँदा २ सय केभीको जेनेरेटर जडान गरिएको छ । अधिकांश समय जेनेरेटर चलाउनुपर्ने बाध्यता छ । इन्धन खर्च, दुध ढुवानी खर्च लगायतका कारण खर्च बढेको बताइएको छ । उद्योगका दुध संकलन, बिक्री वितरण गर्ने ३ वटा ट्यांकर छन् । दैनिक २० हजार लिटर दुध उत्पादन गर्ने क्षमताको कारखाना छ, तर अहिले ६ हजार लिटर मात्रै उत्पादन भइरहेको छ । दैनिक ३ हजार लिटर दुध खपत हुने गरेको छ । नाफामा लिनलाई दैनिक १० हजार लिटर बढी दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्छ । पाउडर पलान्ट बनाउन सकिए सुर्खेतबाट पहाडी जिल्लामा धूलो दुध पठाउन सकिने जयकृष्णको भनाई छ ।

काभे्र पाँचखालस्थित डेरी दाई बालकृष्ण सापकोटाको जिम्मा लगाएर जयकृष्ण र माधव परिवारसहित सुर्खेतमा आएका हुन । पारिवारिक जनशक्तिका अतिरिक्त डेरीमा ३५ जना तलबी कर्मचारी छन् । जयकृष्णको छोरी सुस्मिताले एकाउन्ट, ज्वाई अमित अधिकारीले मार्केटिङ हेर्दै आएका छन् । छोरा सुदिन आफ्नै रुची अनुसार नयाँदिल्लीमा फुड साइन्स अन्तर्गत डेरी टेक्नोलोजी विषय पढ्दैछन् । कर्णालीमै लगानी र प्रविधिका हिसाबले ठूलो उद्योग सञ्चालन गरेपनि प्रदेश सरकारबाट उनीहरुले कुनै प्रोत्साहन पाएका छैनन् । ‘सबै आउनुहुन्छ, हेर्नुुहन्छ, दंग परेर जानुहुन्छ, तर अनुदान मिलेको छैन्,’ जयकृष्ण भन्छन्, ‘हामीलाई नगद अनुदान होइन, किसानको दुध बजारसम्म ल्याउने व्यवस्था मिलाइदिए पुग्छ, डेरीको व्यवसायीकरणका लागि नीति नियम बनाइदिएपुग्छ ।’

सुर्खेत डेरी उद्योग लागत र प्रविधिका हिसाबले सुर्खेत औद्योगिक क्षेत्रमा मात्र नभई सिंगो कर्णाली प्रदेशमै ठूलो उद्योग मानिन्छ । उद्योगमा मेसिनहरु सबै भारतको गुजरातबाट ल्याइएको हो । जयकृष्णका अनुसार एकपटक खरिद गरेपछि १५ वर्षसम्मको टिकाउ हुने अत्याधुनिक मेसिन खरिद गरिएको छ । बुटवलदेखि यता पश्चिम नेपालकै अत्याधुनिक मेसिन जडान गरिएको छ । यस्तो मेसिन नेपालगञ्जमा पनि छैन् ।

‘सुर्खेतको विकट गुटुदेखि रानीबाससम्मको दुध आउँछ, दैलेखको चामुण्डाबाट समेत दुध ल्याउँछौं, यो त्यति टाढाबाट दुध आउने ठाउँ होइन्,’ जयकृष्णका व्यवसायिक साझेदार माधव धिताल भन्छन्, ‘हामीले उद्योग सञ्चालन गरेपछि यहाँका किसानले राम्रो मुल्य पाएका छन्, दुध बेच्न घर–घर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।’ जयकृष्ण र माधवको सपना छ, सबैभन्दा कम दुध उत्पादन हुने कर्णाली प्रदेशलाई डेरीको माध्यमबाट उत्पादकत्व वृद्धि गर्न किसानलाई दुग्ध उत्पादनमा व्यवसायिक बनाउने । र, यी २ युवा जन्मथलो काभ्रेबाट सुदुर कर्णालीको सुर्खेतलाई व्यवसायिक गन्तव्य बनाउँदै संघर्ष गरिरहेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,