सुर्खेत- मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कर्णाली प्रदेशमा भने तीन ठूला दलबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । अधिकांशमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा छ । उम्मेदवार, दलका कार्यकर्तालाई घरदैलो गरी भोट माग्न भ्याइनभ्याई छ ।
कर्णाली प्रदेशमा नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुँदैछ । जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
३० बैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा ठूला राजनीतिक दलहरूले गठबन्धन गरेर चुनाव लडेका थिए । कतिपय ठाउँमा गठबन्धनका दलहरु मित्रवत् प्रतिस्पर्धामा चुनाव लडेका थिए । कर्णालीमा कांग्रेस, माओवादी र समाजवादीको गठवन्धन बन्दा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै चुनावमा जाने भएपछि यसपटक दलहरुको स्पष्ट जनमत परीक्षण हुने माध्ययमका रुपमा उपनिर्वाचनलाई लिइएको छ । उपनिर्वाचन हुने कर्णालीका ८ पालिकाका ८ पदका लागि कांग्रेस, एमाले, र माओवादीले तयारी तीव्र पारेका छन् ।
महाबु गाउँपालिकामा कांग्रेसका झलकबहादुर भण्डारी, एमालेका जंगबहादुर शाही, माओवादी केन्द्रका जंगबहादुर बराल, एकिकृत समाजवादीका जगत हमाल र रास्वपाका प्रकाश बुढा उम्मेदवार छन् । त्यहाँ कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने बताइएको छ । नलगाड नगरपालिका उपप्रमुखमा कांग्रेसका इन्द्रा चन्द सिंह, एमालेले सुनिता बोहरा, माओवादी केन्द्रले देवका लामिछानेबीच प्रतिष्पर्धा हुँदैछ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसका सबिता बुढा, एमालेका जाना शाही, माओवादी केन्द्रका कोपिला बुढाबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।
कर्णाली समय । ९ मंसिर २०८१, आईतवार १३:२३