नेपाल टेलिकमको सहकार्यमा गुराँस गाउँपालिकामा डिजिटल प्रणाली लागू

सुर्खेत– नेपाल टेलिकमको सहकार्यमा दैलेखको गुराँस गाउँपालिकाले एकिकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरेको छ । डिजिटल प्रणालीबाट सेवा प्रवाहको काम सुरु भएपछि सेवाग्राहीहरुले एउटै कामका लागि फाइल लिएर कोठा कोठा चाहार्नुपर्ने बाध्यता हटेको छ ।


सेवाग्राहीले एउटा शाखाका फाइल पेश गरेपछि सम्बन्धित शाखाहरुले अनलाइनबाट काम गरिदिन्छन् । हाल गाउँपालिकाले डिजिटल ईहाजिरी, अनलाइन सिफारिस, अनलाइन योजना व्यवस्थापन, नमस्ते गुराँस नामक अलाइन गुनासो प्रणाली सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गाउँपालिकालाई पूर्ण डिजिटल बनाउने योजना अन्तर्गत डिजिटल सेवा प्रवाह सुरु गरिएको बताए । उनका अनुसार अपांग परिचय पत्र, अनलाइन नागरिकता प्रणाली, गुराँस डाटा सेन्टर र आइटी पार्क, गुराँस आइपीएस, इलेक्ट्रोनिक्स सुपर हाइवे निर्माणका लागि आवश्यक परामर्श भैरहेको छ । डिजिटल गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माण गरी पेपरलेस कार्यालय बनाउने योजना रहेको बताइएको छ ।

गाउँपालिका र टेलिकम प्रादेशिक कार्यालयबीच भएको समझदारी पत्रमा अनुसार फोरजी र फाइवर इन्टरनेट विस्तार गरिएको छ । टेलिकम कर्णाली प्रदेश कार्यालयका प्रमुख डा.कमल लामिछानेले गाउँपालिका र टेलिकमको सहकार्यबाट गुराँस गाउँपालिकालाई नमूना डिजिटल गाउँपालिका निर्माण गरिने जनाए । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल गाउँपालिकाको शुभारम्भ गरेका थिए । उक्त अवसरमा नेपाल टेलिकमका महाप्रबन्धक संगिता पहाडी अर्याल समेत उपस्थित थिइन् ।