थारु समुदायको मौलिक डकुमेन्ट्री ‘सख्या नाच गीत’ सार्वजनिक

सुर्खेत- थारु लोक ऐतिहासिक, पौराणिक संस्कृति झल्किने थारु समुदायको सख्या नाच गीतको लघु चलचित्र (डकुमेन्ट्री) सार्वजनिक भएको छ ।
लखागिन थारु उत्थान मञ्च सुर्खेतको आयोजना तथा थारु कल्याणकारिणी सभाको समन्वयमा निर्मित सुर्खेतमै सुटिङ भएको सख्या नाच गीतको डकुमेन्ट्री शनिबार वीरेन्द्रनगरमा सार्वजनिक गरिएको हो । थारु संस्कृतिविद अनुसन्धाता मानबहादुर चौधरी ‘पन्ना’को लेखन तथा निर्देशन रहेको डकुमेन्ट्रीकोे निर्माता शनिश्रा महतम र छायांकन तथा सम्पादन दीर्ग चौधरीले गरेका हुन् ।
डकुमेन्ट्री सार्वजनिक कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं साहित्यकार डा. महेन्द्रकुमार मल्लले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारु जातिको लोक संस्कृति लोप हुँदै गइरहेको अवस्थामा सख्या नाच गीतको डकुमेन्ट्रीले कोसेढुङ्गा सावित हुने बताए । ‘पहिचान मौलिकतामा आधारित हुन्छ,  संस्कृतिलाई अतिक्रमित हुन दिनुहन्न, आफ्नो पहिचान संस्कृति बचाए मात्र अधिकार स्थपित हुन्छ,’ उनले भने, ‘डकुमेन्ट्री हेर्दा सानो लागे पनि कालान्तारमा यसले ठुलो महत्व राख्नेछ ।’ डा मल्लले गीत संस्कति समाजकै दर्पण भएकोले यस्ता रचनात्मक कार्यमा युवापुस्ताले ध्यान दिनु पर्नेमा जोड दिए । उनले भने, ‘संस्कृतिले इतिहास बोल्छ, जीवनशैलीलाई जनाउँछ, आफू पनि थारु समुदायमा हुर्केकोले परम्परागत चालचलन नाच गीतको दृश्यले पुरानो थारु गाउँघरको सम्झना भएको छ ।’
सुर्खेतका समाजसेवी तथा वरिष्ठ अधिवक्ता धुु्रवकुमार श्रेष्ठले आफू बालापनदेखि नै थारु समुदायमा हुर्केकोले थारु समुदायको कला संस्कृतिप्रति सधै सदभाव र सहयोग रहने विचार व्यक्त गरे । डकुमेन्ट्रीले थारुको पहिचान बचाउने अभियान सुरु गरेको आफूले महसुस गरेको धारणा राखे ।
वरिष्ठ थारु सहित्यकार एवं थारु संस्कृतिविद अनुसन्धाता मानबहादुर चौधरी पन्नाले डकुमेन्ट्रीमा थारु समुदायमा रहेको विभिन्न चाडपर्व, गीत, संस्कृतिमध्ये सख्या नाच थारुहरुको ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक महत्व बोकेको संस्कृति भएको जानकारी दिए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको नाच, गीत लोप हुने अवस्थामा पुगेकाले यसको खोजिनीति गर्ने, संरक्षण संवद्र्धन गर्ने उद्देश्यले डकुमेन्टी निर्माण गरिएको बताए ।
डकुमेन्ट्री निर्माता शनिश्रा दहित महतमले झुमरा, हुरदङ्ग्वा, मघौटा, मुङ्ग्रह्वा आदि मध्य थारु सख्या नाच पौराणिक ऐतिहासिक गाथामा आधाििरत नाच र गीत भएकोले यसको बेग्ले महत्व रहेका बताए । ‘डकुमेन्ट्रीले थारुहरुको मौलिकपनलाई पक्रेको छ, नाच्दा गाउदा प्रयोग गरिने लोक बाजा मादल, मुजुराको प्रयोग, पूजाविधि, सबै पाटो राम्रो छ,’ उनले भने । थारु लोक परम्परा संस्कृति दिनप्रतिदिन लोप हुने क्रममा रहेकाले पुराना पुस्ताका ऐतिहासिक, धार्मिक,सांस्कृतिक र सामाजिक महत्व बोकेको यस्ता नाचलाई जीवन्त राख्नका लागि डकुमेन्ट्री निर्माणमा लगानी गरेको उनको भनाई थियो ।
कार्यक्रममा थारु अगुवा जागुराम थारुले डकुमेन्ट्रीेले सुर्खेतका थारु समुदायको गौरव बढाएको कुरा औल्याए । राजु चौधरीले सञ्चालन गरेको सार्वजनिक समारोहमा सख्या नाच गीत डकुमेन्ट्रीका निर्माता शनिश्रा महतम र गुरुवा औसिया थारुलाई सम्मान गरिएको थियो ।
के हो सख्या नाच ?
सख्या नाच हरेक वर्षको दसैँको अगाडि कृष्णजन्माअष्टमी अटवारी पर्वपछि सुरु भइ दसैँ तिहारसम्म नाचिने संस्कृति हो । यस सख्या गीतमा १५ वटा खण्ड र ३३ सय श्लोक छ जुन महाभारतकालीन कृष्णका माता देवकी (जासु), बुवा वासुदेव (इसरु) ,कृष्ण (कान्हा), कंस, राधासँग सम्बन्धित छ । त्यसैगरी गीतमा संसारको सृष्टि कसरी भयो ? संसारकै सृष्टिसँगै सुरुमा पृथ्वीमा केके उत्पत्ति भए ? मानव जातिले यस धर्तीमा कसरी जीवन सङ्घर्ष गरे ? भन्ने कुराको आख्यान यस नाच गीतमा पाइन्छ ।
डकुमेन्ट्रीमा परम्परागत रुपमा थारु नाचिने सख्या नाचले चाडपर्वमा सबै उमेर समूहका नचनीहरु, मादलेहरु, गाउँका भद्रभलाद्मीहरु जम्मा भई सरसल्लाह गरी गुरुवा केसौका (गाउँका तन्त्रमन्त्र जान्ने ) सँग पूजापाठ गरी गरी अगुवा मादले पछुवा मादले त्यसैगरी गीत गाउने नचनीहरुमा नचनीको लिडर ( मोह्रिन्या) र पश्गिन्या छानेर ठूलै समूहमा नाचिने नाच हो ।
सख्या नाच नाच्दा सबभन्दा पहिले देवी देउतालाई सम्झेर नाच्ने गरिन्छ । जसमा पूर्वको सूर्य देउता, पश्चिमको रमझम देवी, उत्तरमा हरिकविलास, दक्षिणको शिव जगन्नाथ, आकाशको इन्द्र र चन्द्र र पातालको वासुकी नाग आदिको स्तुति गान गर्ने गरिन्छ । त्यसैगरी पाँच पाण्डप, देृतीबज्यै, अन्य गाउँको भुइ भुइह्यार साझा देउथानका देउतालाई पुकारा गरी नाचिन्छ । यो नाचमा व्यापक नचनी, मादलेहरुको सहभागितामा नाचिन्छ । विचविचमा दर्जनौ मादलको तालमा फरक फरक पैया नाचसमेत नाचिने भएकोले नाचभित्र थुप्रै मनोरन्जनात्मक पाटाहरु समेटिएका छन् ।


About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,