सुर्खेत– बहुप्रतिक्षित भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतसँगै निर्माणको चरणमा प्रवेश गरेको छ । भेरी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको आयोजना कार्यान्वयन समितिको बैठकले तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन स्वीकार गरेर लागत अनुमान र बोलपत्र सम्बन्धी कागजातहरु स्वीकृत गरेसंगै निर्माण पूर्वको तयारी पुरा गरेको छ । ‘भेरी लिफ्टङ बन्दैनकी भन्ने धेरैमा शंका थियो, हामीले सबै प्रक्रिया पूरा गरेर निर्माणको थालनी गर्दैछौं,’ नगर प्रमुख ढकालले भनिन्, ‘टेण्डर आह्वानका लागि धेरै प्रक्रिया पूरा गर्नु थियो त्यो चरण पनि सकिएको छ, अहिलेलाई पहिलो चरणको काम अघि बढाउन लागेका छौं ।’
भेरी लिफ्टिङका लागि २०७९ असार २९ गते लगानी सुनिश्चित भएको थियो । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैंकले सदर गरेपछि पहिलो चरणको काम शुरु गर्न लागिएको हो । आयोजनाको पहिलो प्याकेज अन्र्तगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गर्न लागिएको छ ।
संघीयता लागू भएयता खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीमा भेरी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । प्रदेशकै ठुलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षमा वृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालिन खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यसहित भेरी नदीबाट खानेपानी लिफ्टिङ्ग गरेर वीरेन्द्रनगर ल्याउन लागिएको छ ।
सुर्खेत उपत्यका खानीपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटा टेण्डर आह्वानपछि प्रक्रियागत रुपमा जान अझै ७ देखि ८ महिना लाग्ने बताउँछन् । चालू आर्थिक वर्षबाट निर्माण शुरु गर्न लागिएको आयोजना आगामी तीन वर्षमा सक्ने लक्ष्य छ ।
लागत रु. ६ अर्ब
करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगरको २० प्रतिशत लगानी रहनेछ । प्रदेश सरकार पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्गसहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । वीरेन्द्रनगरको खानेपानी संकट समाधान गर्न दीर्घकालीन स्रोतको रुपमा भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम देखिएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
भेरी नदीको सतहदेखि करिव ७ मिटर गहिरो २ इन्टेक निर्माण गरिनेछ । नदीदेखि चारसय मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिने र करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । त्यसपछि मात्रै उपत्यकाबासीका घरघरमा पानी वितरण गरिनेछ । हाल वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग छ । तर सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रतिसेकेन्ड १५३ लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजार बढी घरधुरीले खानेपानी धारा अपुग छ ।
कर्णाली समय । ९ आश्विन २०८०, मंगलवार १०:२६