सुर्खेत- स्थानीयको अवरोधको कारण अवरूद्व चिसापानी–बावियाचौर–बड्डीचौर वीरेन्द्रनगर ३३ केभी प्रशारण लाइनको काम पुनः सुचारू भएको छ ।
वराहताल गाउँपालिका वडा नं ५ का स्थानीयले विभिन्न माग राखेर अवरोध गरेको सो प्रशारण लाइनको काम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको रोहवरमा सरोकारवाला र विद्युत प्राधिकरणबीच छ बुँदे सहमति भएपछि आजदेखि काम सुचारू भएको हो ।
कैलालीको चिसापानीवाट सुर्खेतको बाबियाचौर–बड्डीचौेर हुँदै वीरेन्द्रनगरसम्म आउने सो प्रशारण लाइन निर्माणले आफूहरू मर्कामा पर्ने भन्दै स्थानीयले विद्युतको पोलसमेत उखेलेका थिए । सरोकारवालाहरूसंगकोे सहमति अनुसार विद्युत प्राधिकरणले प्रशारण लाइन क्षेत्रका बस्तीमा कालो तार लगाउने, थ्रिफेजको लाइन उपलब्ध गराउने, स्थानीयकोे कम क्षतिमा विद्युत पोल विस्तार गर्ने लगायत छन् ।
कार्यक्रममा मुुुख्यमन्त्री कँडेलले प्रशारण लाइनकोे विवाद समाधानपछि द्रूत गतिमा काम अगाडि बढाउन निर्देशन दिए । स्थानीय सरोकारवालाहरूको माग सम्बोधनमा आफनो पनि खबरदारी रहने उनको भनाई थियो । ३३ केभी प्रशारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेन्द्रनगरसहित यस क्षेत्रमा देखिएको विद्युत समस्या समाधानमा यसले महत्वपूर्ण योगदान गर्ने मुख्यमन्त्री कँडेलले बताए ।
कार्यक्रममा सहजीकरण समितिको तर्फबाट स्धिमराज जोल्मीले आफूहरू विकास विरोधी नभएको तर नागरिकको ज्यान जोखिममा परेपछि बाध्य भएर प्रशारणलाई अवरोध गरेपनि अब समस्या समाधान हुने बताए । प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बिन्दमान विष्टले वीरेन्द्रनगरलाई पश्चिमबाट बिजुली पठाउन पाउनु त्यस क्षेत्रका जनतालाई गौरवको कुरा भएको बताए ।
जिसस प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, वराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारी लगायतको उपस्थिति थियो ।


कर्णाली समय । १० असार २०८१, आईतवार २१:५१