सुर्खेत– कर्णाली प्रदेशमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद अन्ततः यो वर्ष नहुने भएको छ ।
युवा तथा खेलकुदमन्त्रीको तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पछिल्लो बोर्ड बैठकले प्रतियोगिता २०८२ जेठ ३–१० गते गर्ने निर्णय गरेको छ । तर यो मितिमा पनि राष्ट्रिय खेलकुद हुनेमा सरकारी अधिकारीहरु नै विश्वस्त छैनन् ।
राखेपको ११८ औं बोर्ड बैठकले आगामी चैत्र २३–३० गतेको मिति तोकेको थियो । तर अर्थ मन्त्रालयले बजेट स्वीकृतिमा बिलम्ब गरेको कारण देखाउँदै चैत्रमा सम्भव नभएको राखेपले जनाएको छ । संघीय सरकारले चालू आवमा प्रतियोगिता सम्पन्न गर्न ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । तीन वर्ष अघि गण्डकीको पोखरामा नवौं राष्ट्रिय खेलकुद समापन हुँदा २०८१ मंसिर २–९ गतेको मिति प्रस्ताव गरिएको थियो । पूर्वाधार तयारी अवस्थामा हुँदासमेत सरकारले प्रतियोगिता सञ्चालनमा चासो नदिएको खेल क्षेत्रका सरोकारवालाको गुनासो छ । राखेपले बारम्बार मिति सार्दा तयारीमा अन्यौल सिर्जना भएको छ । बारम्बार मिति सारिँदा प्रतियोगिताको समग्र व्यवस्थापनका साथै खेलाडी प्रशिक्षण लगायतका कामहरुमा अन्यौलता सिर्जना भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको प्रतियोगिताको आयोजक राखेप र व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् हुन् । प्रस्तावित मितिमा वीरेन्द्रनगरमा अत्यधिक गर्मी हुने, गर्मीले भार क्षमतामा असर पर्न गई विद्युत अनियमित हुने तथा मौसम प्रतिकूलताका कारण सो समय उपर्युक्त नभएको बताइन्छ ।
दशौं राष्ट्रिय खेलकुद अन्यौल हुनुमा युवा तथा खेलकुद मन्त्रालय र राखेप नेतृत्वबीचको टकराव मुख्य कारण हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ हुन् । घिसिङसहित अधिकांश बोर्ड सदस्यहरु तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले नियुक्त गरेको थियो । त्यतिबेला नियुक्त बोर्ड उपाध्यक्ष र अधिकांश सदस्यहरुको पदावधि भने समाप्त भई नयाँ नियुक्त भइसकेका छन् । वर्तमान सत्ता गठबन्धन अनुकुलको बोर्ड नहुँदा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निशाना परेको बताइएको छ । युवा तथा खेलकुद मन्त्रालय र राखेप बोर्डको बेमेलका कारण यसअघि थुप्रै बैठक बस्न सकेका थिएनन् ।
वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार भएपनि संघीय सरकारले निर्णय नगर्दा प्रदेश सरकार पनि अलमलमा परेको छ । आकर्षक र भव्य रंगशाला दशौंको पखाईमा भएपनि प्रदेश सरकार र संघीय सरकारको बेवास्ताका कारण खेलप्रेमीहरु निराश बन्न पुगेका छन् । वीरेन्द्रनगर ८ स्थित नौ बिघा क्षेत्रफलमा १० हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पुरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदान लगायतका अन्य संरचनाहरु बनाइएको छ । रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौंका लागि २४ खेल खेलाउने तयारी छ ।
प्रतियोगिताको मुख्य व्यवस्थापक कर्णाली प्रदेश खेलकुद विकास परिषद पनि यही पौष ६ देखि रिक्त छ । परिषद्को अध्यक्ष प्रदेशको सामाजिक विकासमन्त्री हुने भएपनि परिषद्को कार्यकारी नेतृत्व रिक्त हुँदा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न संघीय सरकारलाई दबाब दिन नसकेको आरोप लाग्ने गरेको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सञ्ज्यालका साथै सदस्यहरुको चार वर्षे पदावधि सकिएको छ ।
कर्णाली प्रदेश सरकारले तत्काल परिषद्मा पदाधिकारीको नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने आवाज उठ्दै गएको छ । प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नियुक्ति गरेर संघीय सरकारलाई छिटो प्रतियोगिता आयोजना गर्न दबाब दिनुपर्ने खेलाडीहरु बताउँछन् । तर प्रदेश सरकारले पदाधिकारी नियुक्तिमा कुनै प्रक्रिया थालेको छैन् ।
परिषद्का निवर्तमान सदस्य सचिव सञ्ज्याल युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नै कर्णालीमा प्रतियोगिता नगराउने जोडबलमा लागेको आरोप लगाउँछन् । ‘मन्त्रीज्यू आफै सुर्खेत आएर रंगशाला लगायतका पूर्वाधारको अनुगमन गर्नुभो, पूर्वाधारकै कारण प्रतियोगता रोकिने अवस्था छैन् भन्नुभो, त्यसपछि विभिन्न बहानाबाजी गरेर ‘गेम’ सार्ने योजनामा लाग्नुभो, उनले भने, ‘यो वर्ष नहुनु भनेको अर्को वर्ष पनि हुने ग्यारेन्टी नहुनु जस्तै हो, मौसमको दृष्टिले मंसिरदेखि चैतसम्म हो, चैतमै नहुने भएपछि जेठको अत्यधिक गर्मीमा झन् सम्भव छैन्।’
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुद प्रतियोगिता आयोजक संघीय सरकार भएकाले आफूहरुले निर्धारित मितिमै गर्न थुपै्र पटक आग्रह गरेको बताए । ‘हामी व्यवस्थापन गर्न तयार छौं, रंगशाला निर्माण भइसकेको अवस्था छ,’ उनले भने । खेलकुद प्रतियोगिता हुने ग्यारेन्टी भएमा कर्णाली प्रदेश सरकार व्यवस्थापनको तयारीमा जुट्ने मन्त्री भण्डारीको भनाई छ । उनले प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी संशोधन विधेयक प्रदेशसभामा विचाराधिन छ । उक्त संशोधन विधेयक प्रदेशसभाबाट पारित भएपछि मात्र पदाधिकारी नियुक्ति प्रक्रिया अघि बताए ।


कर्णाली समय । २० फाल्गुन २०८१, मंगलवार १६:४१