काठमाडौँ मोडल कलेजको २३ औँ दीक्षान्त सम्पन्न, १२० विद्यार्थी दीक्षित

काठमाडौं- बागबजारस्थित काठमाडौँ मोडल कलेज (केएमसी) ले आफ्नो २३औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार पिंगलास्थान गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित समारोहमा स्नातक तह उत्तीर्ण गरेका करिब १२० जना विद्यार्थी दीक्षित भएका हुन् ।

काठमाडौँ मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका कार्यकारी निर्देशक सहप्राध्यापक अजयप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा कलेज प्रमुख सुरेन्द्र सुवेदीले दीक्षित विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरू कलेजका ब्रान्ड एम्बेसेडर भएको उल्लेख गरे । उनले विद्यार्थीहरूको सफलता र प्रगतिमा कलेज सधैं गर्व गर्ने बताउँदै ज्ञान प्राप्त गरेपछि त्यसको घमण्ड होइन, समाज र राष्ट्रको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा उनले दीक्षित विद्यार्थीहरूलाई सुशोभन शपथ समेत गराएका थिए ।

समारोहका प्रमुख वक्ता क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा. सन्तोष खड्काले उच्च शिक्षा हासिल गरेका युवाले आफ्नो ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणसँग जोड्नुपर्ने बताए । उनले नेपालमै प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै विद्यार्थीहरूले आफ्नो दक्षता र सिर्जनशीलतालाई देशको समृद्धिका लागि उपयोग गर्नुपर्ने धारणा राखे । उनले आत्मविश्वास, अनुशासन र नैतिक मूल्यलाई आत्मसात् गर्दै समुन्नत भविष्य निर्माण गर्न शुभकामना पनि व्यक्त गरे ।

दीक्षान्त समारोहमा शैक्षिक उपलब्धिसँगै विद्यार्थी जीवनमा नेतृत्व, अनुसन्धान तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट योगदान पु¥याएका विद्यार्थीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । केएमसी एकेडेमिक एक्सेलेन्स अवार्ड अन्तर्गत बीबीएतर्फ रबिन्सन भण्डारी, बीबीएमतर्फ बिगुल सापकोटा, बीसीएतर्फ अनिकेत मण्डल, बीएतर्फ श्रेयिशा दाहाल तथा बीबीएसतर्फ प्रीति न्यौपानेलाई प्रमाणपत्र, ट्रफी तथा जनही रु. ३३ हजार ३३३ नगदसहित सम्मान गरिएको कलेजले जनाएको छ ।

त्यसैगरी बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्ड अन्तर्गत बीबीएसतर्फ दिया ताम्राकार (बेस्ट रिसर्च प्रोजेक्ट), बीबीएमतर्फ विवेक पाण्डे (बेस्ट इन्टर्नशिप रिपोर्ट), बीबीएतर्फ दिलीप बिष्ट (बेस्ट समर प्रोजेक्ट), बीएतर्फ रेइभा श्रेष्ठ (बेस्ट सोसल प्रोजेक्ट) तथा बीसीएतर्फ जेनिश महर्जन (बेस्ट प्रोजेक्ट) लाई पनि प्रमाणपत्र, ट्रफी र रु. ३३ हजार ३३३ नगद प्रदान गरिएको थियो ।

यस वर्षको प्रतिष्ठित केएमसी एक्सेलेन्स अवार्ड भने बीबीएमका विद्यार्थी बिगुल सापकोटाले प्राप्त गरेका छन् । शैक्षिक नतिजा, स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबमा सक्रिय योगदान, नेतृत्व क्षमता र शिक्षकहरूको मूल्याङ्कनलगायत विभिन्न आधारमा उत्कृष्ट ठहरिएका सापकोटालाई रु. ४० हजार नगद, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । कलेजमा अध्ययनका क्रममा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न विद्यार्थी क्लबमार्फत उल्लेखनीय योगदान दिएका अन्य विद्यार्थीहरूलाई पनि समारोहमा विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सिनाले गरेका थिए । कार्यक्रममा केएमसी नेटवर्कअन्तर्गतका विभिन्न कलेजका निर्देशक, विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । वि.सं. २०६० मा स्थापना भएको काठमाडौँ मोडल कलेजमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस, एमए (अंग्रेजी), बीबीए, बीबीएम, बीबीएस, बीसीए तथा बीए (अंग्रेजी, सामाजिक कार्य र मनोविज्ञान) लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त यस कलेज निजी क्षेत्रका शैक्षिक संस्थामध्ये नेपाल सरकार, शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाका रूपमा समेत सम्मानित भइसकेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,