
सुर्खेत- कर्णाली प्रदेशमा बालअधिकारको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका पाँच जना अभियन्ता तथा दुई संस्थालाई सम्मान गरिएको छ ।
बालबालिकाको अधिकार, संरक्षण र सहभागिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सुर्खेतका नागरिक समाजका अगुवा पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्य र नेपालमा बाल क्लब दर्ताका लागि कानुनी लडाइँको नेतृत्व गरेका तिलोत्तम पौडेललाई सम्मान गरिएको हो । सुर्खेतबाट बालअधिकारको क्षेत्रमा स्थापनाकालदेखि निरन्तर काम गर्दै आएका सेभ द चिल्ड्रेन र स्याक नेपाललाई पनि सम्मान गरिएको छ ।
कर्णाली प्रदेशमै पहिलोपटक विभिन्न समयमा बाल क्लबमा आबद्ध भई बालअधिकारका क्षेत्रमा सक्रिय रहेका पूर्व बाल क्लब सदस्यहरूको प्रथम ऐतिहासिक भेलाका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । भेलाको आयोजना सिसिआर कर्णालीले सेभ द चिल्ड्रेन, युनिसेफ र प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा गरेको हो । कार्यक्रम सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षता तथा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरू कल्याणी खड्का, उर्मिला विश्वकर्मा र कलबहादुर हमाल, प्रदेश बाल क्लब सञ्जालका उपाध्यक्ष अनुराधा चौलागाईं, क्याक्मा सुर्खेतका संयोजक पवित्रा शाही, सेभ द चिल्ड्रेनका रत्नराज ओझा, युनिसेफका दीपक श्रेष्ठ तथा प्लान इन्टरनेशनलकी दीक्षा भाटलगायतको सहभागिता थियो । पूर्व बाल क्लब सदस्य शर्मिला बिसीको संयोजकत्वमा गठित कार्यदलको सक्रियतामा भेलाको व्यवस्थापन गरिएको थियो । कार्यक्रममा कार्यदलकी संयोजक बिसीले कर्णाली प्रदेशमा बालबालिकाको अवस्था, तथ्यांक र उनीहरूले भोगिरहेका सवालबारे विषय प्रवेश गराएपछि विभिन्न सत्र सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजीकरण पूर्व बाल क्लब सदस्य एवं सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गरेका थिए ।

भेलामा ‘बाल सहभागिता हिजो, आज र भोलि’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो । पूर्व बाल क्लब सदस्य राकेश पौडेलले सहजीकरण गरेको छलफलमा गुर्भाकोट नगरपालिकाका उपप्रमुख एवं पूर्व बाल क्लब सदस्य मैना बिक, युनिसेफमा कार्यरत पूर्व बाल क्लब सदस्य प्रेमचन्द र युवा उद्यमी एवं पूर्व बाल क्लब सदस्य दीपक बुढाले आफ्ना अनुभव तथा धारणा प्रस्तुत गरेका थिए । छलफलमा बाल क्लबमार्फत बालअधिकारका क्षेत्रमा विगतमा भएका अभियान, त्यसबाट प्राप्त उपलब्धि र वर्तमान समयमा बाल सहभागितालाई थप प्रभावकारी बनाउने उपायबारे चर्चा गरिएको थियो ।
पूर्व बाल क्लब सदस्य र वर्तमान बाल क्लबमा आबद्ध सदस्यबीच अन्तरक्रिया पनि गरिएको थियो । अन्तरक्रियाको सहजीकरण रमा भण्डारी तथा पूर्व बाल क्लब सदस्यहरू बाले विश्वकर्मा, ताराप्रसाद पौडेल, अनिता नेपाली र हिमा उपाध्यायले संयुक्त रूपमा गरेका थिए ।



कर्णाली समय । २४ श्रावण २०८३, आईतवार ०७:१२