सुर्खेत- कालीकोटकी १४ वर्षीय कामना शाहीले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीको भूमिका निर्वाह गरेकी छिन् ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको पहिलो दिनः अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीमाथि हुने सबै खालको हिंसाको अन्त्य हुनुपर्नेमा माग गरेकी छन् । मन्त्री बनेपछि उनले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजनाबारे जानकारी लिएकी थिईन् । शिक्षा, स्वास्थ्य र सामाजिक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयको भए गरेका कामहरु र आगामी योजनाबारे जानकारी दिएका थिए । कामनाले कर्णालीको बालबालिका र किशोरीहरुको स्वास्थ्य, शिक्षा र सशक्तिकरणका लागि थप सुधार र विकास गर्ने प्रतिवद्धता जनाइन् ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सबै किशोरकिशोरी र युवाहरु नेपालको भविष्य भएको बताए । यो कार्यक्रमले तिनै किशोरकिशोरी र युवाहरुको सशक्तिकरण संगै, भविष्य र सम्भावना पनि नेपालमै खोज्नको लागि सकारात्मक सन्देश जाने उनको भनाई छ । मन्त्री भण्डारीले लैंगिक हिंसा विरुद्धको दिवसको शुभारम्भको दिनमा कालीकोटकी एक किशोरी मन्त्री पदमा बसेर कर्णालीको बाबालिकाको समस्या र मागहरु माथि थप ध्यानाकर्षण गराएकोमा धन्यवाद दिए । साथै यस्तो खालको अभ्यासले कामना र उनी जस्तै किशोरीहरुले भविष्यमा आफु नेतृत्व तहको भुमिकामा जान थप उर्जा दिनेछ भन्दै किशोरी मन्त्री कामनालाई मन्त्री भण्डारीले शुभकामना दिए ।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले आफ्नो सफल जीवन यात्रा बारे अनुभव बाँड्दै किशोरी मन्त्रीलाई बधाई दिए । अभियानले आत्मविश्वास बढाउने र सशक्तिकरणसंगै लैंगिक समानता कायम गर्ने उनले विश्वास व्यक्त गरे । आफ्नो नेतृत्व विकासमा ठुलो भूमिका खेलेको बताउदै कामनाले भनिन्, “म मन्त्री हँदै गर्दा मलाई छुट्टै खुसी महसुस भैरहेको छ । मन्त्री बनिरहँदाका पल मेरा लागि विशेष छन् । यसल मलाई आफ्नो भविष्यमा के बन्ने भन्ने योजनामा मार्गदर्शन भएको छ र मेरो नेतृत्व विकासमा सहयोग पुगेको छ । मैले यो अवसर पाएर गर्व महसुस गरेकी छु ।
के हो गर्ल्स टेकओभर अभियान ?
गर्ल्स टेक ओभर प्रतीकात्मक अभियानले बालिका र किशोरीहरूको नेतृत्व क्षमता र सहभागितामा जोड दिन्छ । प्लान इन्टरनेशनल नेपाल, पश्चिम क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले यो अभियानले किशोरीहरुको सशक्तिकरणलाई प्रोत्साहित गर्ने र समाजमा उनीहरूको सकारात्मक योगदानका लागि अवसर सिर्जना गर्ने बताउँदै भन्छिन्, यसको उद्देश्य किशोरी र बालिकालाई नेतृत्व भूमिकामा राखेर, उनीहरूको भविष्यका लागि थप अवसरहरू सिर्जना गर्नु हो, जसले समान अवसरहरूको लागि स्थान प्रदान गर्दछ ।
बालबालिकाको अधिकार प्रर्वद्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियाशिल संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान र पहल हो । नेपालमा बालिका र किशोरी केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय देखि स्थानीय स्तरमा गर्ल्स टेकओभर अभियानलाई निरन्तरता दिइएको छ । जुम्ला, कालिकोट, सुर्खेत, धनुषा, सिन्धुली, बर्दिया जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा यस अभियान अन्तर्गत ब्रिटिश राजदुतावास, नोर्वेजियन राजदुतावास, राष्ट्रिय युवा परिषद, फिन्ल्याण्ड राजदुतावास, यूरोपियन युनियन, जर्मन राजदुतावास, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, जर्मन राजदुतावास, गाउँपालिका अध्यक्ष, र नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको भूमिकामा किशोरीहरूले नेतृत्व लिएका छन् ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले गर्ल्स टेकओभर अभियान बालिका र किशोरीहरुको समानताका लागि एक उत्कृष्ट अवसर भएको बताए । उनका अनुसार बालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखी उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतीका बारेमा जानकारी लिन संघ संस्था र निकायहरूलाई अवसर प्रदान गर्दछ । साथसाथै किशोरीहरुलाई पनि निर्णयकर्ता, नेतृत्वमा रहेका व्यक्ति बन्नको लागि मार्गदर्शन प्रदान गर्छ ।
गर्ल्स टेक ओभरमा देशभरका थप जिल्लाका ३० जना किशोरीहरूले विभिन्न संघसंस्था र निकायहरूमा विभिन्न पदको अर्थपूर्ण र प्रभावकारी तरिकाले नेतृत्व लिने योजना रहेको छ । पदभार ग्रहण कार्यक्रम २८ अक्टोबरदेखि सुरु भएको हो । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रही किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम अर्थपूर्ण र प्रभावकारी तरिकाले र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिन्छ ।
यो अभियानका लागि प्लान इन्टरनेशनल नेपाल, युवा, युवालय, क्याड नेपाल– जुम्ला, पेस नेपाल– जुम्ला, किडार्क कालिकोट, हुरेण्डेक कालिकोट, सादा नेपाल कालिकोट, स्याक नेपाल सुर्खेत, बी–गु्रप बर्दिया, आर के जे एस बर्दिया, बाँक यूनेस्को क्लब, जनजाती समाज विकास समिति सिन्धुली, जे डब्लु ए एस नेपाल, सी एफ डब्लु ए, एफ डि आर सी र सपोर्ट नेपाल लगायतका संस्थाहरूको साझा अभियान हो ।
कर्णाली समय । १३ मंसिर २०८१, बिहीबार १२:४६