संविधानमा लेखिएका अधिकार कार्यान्वयन गर्न अझैं मिहेनत गर्नुपर्ने अवस्था छः नगर प्रमुख ढकाल

सुर्खेत–वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले महिला–पुरुषको विभेद अन्त्यको व्यवस्था गरेपनि पूर्ण कार्यान्वयनमा आउन नसकेको बताएकी छन् । सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को सोमबार आयोजित २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेखित महिला हकलाई व्यवहारमा लागू गर्न अझैं संघर्ष गर्नुपर्ने बताएकी हुन् ।


नगर प्रमुख ढकालले कानून, नीति र नियम नबन्दा महिला र पुरुषबीच कतिपय सन्दर्भमा विभेद कायमै रहेको बताइन् । पारिवारिक जिम्मेवारीजस्तै सामाजिक, प्रशासनिक र राजनीतिक जिम्मेवारी पुरा गर्न महिला सक्षम रहेको उनको भनाई थियो । “अहिलेसम्म महिलाले सम्हालेको नेतृत्व उदाहरणीय छ,” उनले भनिन्, “न्यायिक समिति, योजना निर्माणको जिम्मेवारी विभेदरहित तरिकाले सम्पन्न भएका छन्, जिम्मेवारी पाएपछि सबैले पुरा गर्न सक्छन्, तर अझैं मिहेनत गर्नुपर्ने अवस्था छ ।” संविधान निर्माणमा हामी सबैको योगदान र लगानी भएकै कारण महिला हक र अधिकार सुनिश्चित भएको बताउँदै भनिन्, “आज देशव्यापीमा प्रमुख र उपप्रमुखमध्ये एक महिला, वडामा दलित महिला र महिला हुनुहुन्छ, कानून महत्वपूर्ण कुरा हो ।” महिलाहरु पनि आत्मनिर्भर बन्नुपर्छ, पेशा व्यवसायमा जोडिनुपर्छ भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले समाजमा धेरै राम्रा कार्यहरु गरेकोमा उनले प्रसंशा व्यक्त गरिन ।

वीरेन्द्रनगर १२ का वडाध्यक्ष चुडामणी चपाईले वामले समाजमा उदाहरणीय कार्य गरेको भन्दै वडा कार्यालय सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । वडामा निकै राम्रा कामहरु भएको भन्दै उनले समाजले राम्रा कामको प्रसंशा गर्न चुकेको टिप्पणी गरे ।

संस्थाका अध्यक्ष देवी पौडेलको अध्यक्षता र सचिव यामकुमारी लामिछानेले सञ्चालन गरेको समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष मञ्जु राना क्षेत्री र महासचिव अमृताकुमारी आचार्यले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माया नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा संस्थामा महत्वपूर्ण योगदान निर्वाह गरेका कर्मचारी र पूर्व कर्मचारीलाई प्रसंशापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त अवसरमा संस्थाका पूर्व कार्यक्रम संयोजक प्रतिमा परियार र संस्थामा लामो समयदेखि सहयोगी कर्मचारीको रुपमा कार्यरत मानकुमारी ढकाललाई सम्मान गरिएको थियो ।

साथै साधारणसभामा संस्थाद्धारा सञ्चालित सामुदायिक सुरक्षा जालो परियोजनाको सहयोगमा वीरेन्द्रनगर १२ स्थित हस्तबीर आधारभूत विद्यालयका १६ र अमरज्योति माविका ३ जना गरी १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । साधारणसभाको उद्घाटन सत्रमा नगर प्रमुख ढकाल, वडाध्यक्ष चपाईका साथै सिएसएन वीरेन्द्रनगरका अध्यक्ष ऋषि वली, संस्थाका कार्यकारी निर्देशक मुधरानी ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रमहरु पारित गरेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,