
प्रकाश अधिकारी/ सुर्खेत– पटक–पटक मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक निर्धारित समयमै हुने सन्देश दिँदै आइतबार सुर्खेतस्थित कर्णाली रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बस्यो । राखेप बोर्ड अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गर्दै तयारीलाई तीव्रता दिने प्रतिवद्धता जनाएको छ ।
मन्त्री पोखरेलले प्रतियोगिता सर्ने विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गरे । पटक–पटक मिति सरेकाले आशंका उत्पन्न हुनु स्वाभाविक भएपनि मूल आयोजक समितिको बैठकसँगै प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढेको उनको भनाई छ । ‘प्रतियोगिता औपचारिक रूपमा तोकिएको मितिबाट सुरु होला, तर यसको उत्साह र तयारी आजैबाट सुरु भएको छ,’ उनले भने, ‘अब दशौँ राष्ट्रिय खेलकुद हुन्छ कि हुँदैन भन्नेमा कसैले पनि द्विविधा मान्नु पर्दैन ।’
बैठकले सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीलाई प्रतियोगितामा सहभागी गराउने तथा ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मतसम्भारलाई प्राथमिकता दिने र निजी क्षेत्रसँग सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रतियोगितालाई व्यवस्थित बनाउन खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकको सुरक्षा, आवास, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था मिलाउने निर्णय भएको छ ।
त्यस्तै, प्रतियोगिताको प्रचारप्रसारमा सञ्चारमाध्यम, डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने तथा प्रायोजक, संघसंस्था र स्थानीय तहलाई आयोजनामा जोड्ने निर्णय गरिएको छ । प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गर्ने र आयोजना तथा व्यवस्थापनका काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
संघ–प्रदेश सहकार्यबाटै प्रतियोगिता सफल पार्छौं : मुख्यमन्त्री शाही
मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठक कर्णालीमै बसेकाले प्रतियोगिता निर्धारित ढंगले अघि बढ्ने स्पष्ट सन्देश गएको बताए । उनले विगतमा देखिएका आशंका अन्त्य गर्दै अब समन्वयात्मक रूपमा अघि बढ्ने बताए । ‘विगतका आशंका अब अन्त्य भएका छन्, आजबाट हामी स्पष्ट लयमा अघि बढ्छौँ,’ उनले भने ।
मुख्यमन्त्री शाहीका अनुसार प्रदेश सरकारले प्रतियोगिताका लागि आवश्यक अधिकांश तयारी अघि बढाइसकेको छ । बाँकी कामलाई तीव्रता दिँदै संघीय सरकार, राखेप, प्रदेश सरकार र खेल संघसंस्थाबीच समन्वय गरेर प्रतियोगिता सफल बनाइने बताए ।
पूर्वाधार र व्यवस्थापन तयारी तीव्र
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार र व्यवस्थापनको कामलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए । खेलाडी तथा पदाधिकारीको आवास व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल भइरहेको र होटलको क्षमता तथा उपलब्धताबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।
प्रतियोगिताका क्रममा सुरक्षा व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा समिति गठन गरिएको तथा स्वास्थ्य सेवाका लागि प्रदेश सरकारको स्वास्थ्य टोलीसँग समन्वय भइरहेको बताए । राखेपका सदस्यसचिव रामचरित्र मेहताले व्यवस्थापनमा देखिएका चुनौती समाधान गर्दै प्रतियोगिताको तयारी अघि बढिरहेको बताए । उनले पारा खेलकुदका लागि पनि बजेटको व्यवस्था गरिएको जानकारी दिए । दशौँ राष्ट्रिय खेलकुद सम्पन्न भएपछि पारा खेलकुदको मिति तय गरेर तयारी अघि बढाउने योजना रहेको बताए ।
विभिन्न जिल्लामा खेल सञ्चालनको प्रस्ताव
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । सुर्खेतसँगै बाँके, दैलेख, सल्यान र कालीकोटमा खेल सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । प्रतियोगितामा एथलेटिक्स, कुस्ती, कबड्डी, ब्याडमिन्टन, बक्सिङ, कराते, बास्केटबल, क्रिकेट, टेबलटेनिस, फुटबल, बुद्धिचाल, ह्यान्डबल, हक्की, जुडो, ई–स्पोट्र्स, खो–खो, स्क्वास, रग्बी, सुटिङ, पौडी, साइक्लिङ, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलनलगायत ३२ खेल विधा समावेश गरिनेछ । मूल आयोजक समितिको बैठकमा संघीय सरकार, प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेशका सदस्यसचिव, खेल संघसंस्था तथा अन्य सरोकारवालाको सहभागिता थियो ।



कर्णाली समय । १८ आश्विन २०८३, आईतवार १७:२५