सुर्खेत– पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले सम्झौता अनुसार काम नगरी सम्पर्कविहिन रहेका कान्छाराम कन्ट्रक्सन र जलजला निर्माण सेवालाई तत्काल काम थाल्न चेतावनी दिएको छ ।
वीरेन्द्रनगरका सहरी सडक कालोपत्रेको ठेक्का लिएको कान्छाराम कन्ट्रक्सन प्रालि काठमाडौं र कुइने जामु बाबियौचार जंगलाघाट तथा बाबियाचौर भावर सडकको ठेक्का लिएको जलजला निर्माण सेवा दाङलाई काम थाल्न अन्तिम चेतावनी दिएको हो । निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित कार्ययोजना अनुसार काम नगरी सम्पर्कमै नरहेको, निर्माण कार्य अलपत्र पारेको भन्दै तत्काल सम्झौताका शर्त पालना गर्न गम्भीर नभए कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
पटक-पटक दिएका लिखित र मौखिम निर्देशनको समेत बेवास्ता गरेको निर्देशनालयले जनाएको छ । कान्छाराम कन्ट्रक्सन प्रालिका सञ्चालक संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हुन् । उनी रामेछाप कांग्रेसका सभापति समेत हुन् । कान्छारामले २०७८ भदौमा लिएको ठेक्काको म्याद यही मंसिर २० गते सकिँदैछ । उनको कम्पनीलाई सडक विभागको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि २ वर्ष ६ महिनासम्मको लागि कालोसूचीमा राखिसकेको छ ।
जलजला निर्माण सेवा घोराही, दाङले पनि कुइने जामु बाबियाचौर जंगलाघाट तथा बावियाचौर भावर सडक खण्ड अलपत्र पारेको छ । जलजलाले २०७८ मंसिरमा लिएको ठेक्काको अवधि आगामी चैत २५ गते सकिँदैछ ।
कर्णाली समय । ३० कार्तिक २०८१, शुक्रबार १२:४९