सुर्खेत- मुगुको छायानाथ रारा नगरपालिका–६ मा एकै घरका चार जनाको सामुहिक हत्या गरिएको छ । मुन्दु गाउँमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि ती चार जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
एकै घरका २८ वर्षीया श्रीदेबी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो । घरमा घाँटी रेटि हत्या गरिएको अवस्थामा शुक्रबार बिहान साढे ९ बजे तिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन बित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमान्डमा प्रहरी घटना स्थलमा पुगेको थियो ।
घटना दुई दिन अगाडि भएको अनुमान छ । ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजे तिर ढोका खोल्दा चारै जनाको विभत्स अवस्थामा फेला पारेका थिए । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान शुरु भइसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जानकारी दिए । हत्या गरिएका श्रीदेवी बोहराका पति एक वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।


कर्णाली समय । १० कार्तिक २०८०, शुक्रबार २०:२४