मुगु घटना : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

सुर्खेत- मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर–६ मन्दु गाउँमा एकै परिवारका चार जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरीको विशेष टोली घटनास्थल पुगेको छ । शुक्रबार घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज‚ ८ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको विभत्स शव भेटिएको थियो ।


सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको कुकुरसहितको विशेष टोली घटनास्थलमा पुगेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु पुगेर अनुसन्धान थालिसकेको छ ।

सुर्खेतबाट अनुसन्धानका लागि वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली खटिएका छन् । शुक्रबार बिहान ९ बजे घटनाको खबर पाउनासाथ विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक आमा छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शुक्रबारदेखि दिनभरिजसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई सिल गरी पहरा दिइरहेको छ ।