
सुर्खेत–काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेल चलिरहँदा त्यसको रोमाञ्चकता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसम्म आइपुगेको छ । घण्टाघरस्थित डबलीमा सञ्चालन भइरहेको ‘एक्सट्रिम फ्यान पार्क’ यतिबेला क्रिकेटप्रेमीहरूको जमघट र मनोरञ्जनको आकर्षक केन्द्र बनेको छ ।
एक्सट्रिम इनर्जी ड्रिंक्सले सञ्चालन गरेको फ्यान पार्कमा एनपीएलका खेलहरू ठूलो एलईडी पर्दामार्फत प्रत्यक्ष प्रसारण भइरहेका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले क्रिकेटप्रेमीहरू साथीभाई र परिवारसहित डबली पुगेर खेलको प्रत्यक्ष प्रशारण हेर्दै खेलको मज्जा लिइरहेका छन् । मैदानमा खेलाडीले चौका र छक्का प्रहार गर्दा डबलीमा उपस्थित दर्शकको उत्साह पनि उत्तिकै बढ्ने गरेको छ ।
साँझ ढल्किँदै जाँदा घण्टाघर डबलीमा दर्शकको चहलपहल थप बढ्छ । कोही पर्दामा देखिएको खेलमा केन्द्रित हुन्छन् त कोही आफ्ना मनपर्ने टोलीको समर्थनमा रमाइरहेका हुन्छन् । खेलको रोमाञ्च, दर्शकको हुटिङ र सामूहिक उत्साहले डबलीको वातावरणलाई क्रिकेटमय बनाएको छ । राति अबेरसम्म पनि दर्शकहरू त्यहीँ बसेर खेलको आनन्द लिने गरेका छन् ।

विशेषगरी एनपीएलमा कर्णाली याक्स मैदानमा उत्रिएका बेला फ्यान पार्कको माहोल अझ रोमाञ्चक बन्ने गरेको छ । कर्णाली याक्सका खेलाडीले ब्याटिङ र बलिङ गर्दा दर्शकको उत्साह हेर्नलायक हुन्छ । टोलीको समर्थनमा हुने हुटिङ, ताली र नाराले घण्टाघर डबलीलाई मिनी क्रिकेट मैदानकै झल्को दिन्छ । कर्णाली याक्सले चौका, छक्का प्रहार गर्दा होस् वा विपक्षी टोलीको विकेट लिँदा, दर्शकको खुसी र उत्साह एकैसाथ उर्लिन्छ । आफ्नो समर्थन रहेको टोलीलाई मैदानबाहिरबाट यसरी साथ दिन ठूलो संख्यामा क्रिकेटप्रेमी जुट्नुले कर्णालीमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र कर्णाली याक्सप्रतिको गहिरो अपनत्वसमेत झल्काउँछ ।
एक्सट्रिम फ्यान पार्क केवल क्रिकेट हेर्ने थलोमा सीमित छैन । आयोजकले क्रिकेटसँगै संगीत र मनोरञ्जनलाई पनि जोडेको छ । हालै चर्चित देउडा गायिका इब्सल सञ्ज्यालको विशेष सांगीतिक प्रस्तुतिले फ्यान पार्कलाई थप उत्सवमय बनायो । देउडाको लयमा रमाएका दर्शकले क्रिकेटसँगै स्थानीय सांस्कृतिक मनोरञ्जनको स्वादसमेत लिन पाए ।
त्यस्तै, आयोजकले विभिन्न समयमा सञ्चालन गर्ने क्विज तथा मनोरञ्जनात्मक प्रतियोगिताका विजेतालाई विशेष उपहार प्रदान गर्दै आएको छ । यसले दर्शकको सहभागिता र उत्साह थप बढाएको छ । क्रिकेट हेर्न आउने दर्शकले खेलको रोमाञ्चसँगै उपहार जित्ने अवसर र सांगीतिक मनोरञ्जनसमेत पाउनु फ्यान पार्कको अर्को आकर्षण बनेको छ ।
नेपालमा क्रिकेटप्रतिको लोकप्रियता बढ्दै जाँदा त्यसको प्रभाव कर्णालीमा पनि देखिन थालेको छ । पछिल्लो समय कर्णाली याक्सप्रति समर्थकको बढ्दो आकर्षण र एनपीएलका खेलप्रतिको चासोले यहाँ क्रिकेटको सम्भावना उजागर गरिरहेको छ । वीरेन्द्रनगरमा क्रिकेट हेर्न एकै ठाउँमा भेला हुने दर्शकको उत्साहले कर्णालीमा क्रिकेट सम्भावनालाई उजागर गरेको छ ।
एक्सटिम इनर्जी ड्रिंक्सले निःशुल्क फ्यान पार्क सञ्चालन गरेर एनपीएलको उत्साहलाई मैदानबाहिर पनि विस्तार गरेको छ । फ्यान पार्कका इभेन्ट म्यानेजर राकेश पौडेल (तिलक) ले विशेषगरी क्रिकेट हेर्न चाहने तर काठमाडौं पुग्न नसक्ने कर्णालीका दर्शकका लागि घण्टाघर डबलीको फ्यान पार्क खेलसँग जोडिने साझा थलो बनेको बताउँछन् । उनी भन्छन्, ‘यसले स्थानीय स्तरमा क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै खेलकुद र मनोरञ्जनलाई एउटै उत्सवमा जोड्ने काम गरेको छ ।’




कर्णाली समय । २४ कार्तिक २०८३, सोमबार १५:५५