
सुर्खेत- शनिबारदेखि सुरु हुने एमालेको ११ औं महाधिवेशनमा दैलेखका सुशिलकुमार थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले पहिलोपटक ४० वर्षमूनिका युवाहरुलाई केन्द्रीय कमिटीमा स्थान दिने नीति लिएपछि थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।
थापा २०७४ को निर्वाचनमा कर्णाली प्रदेशसभामा दैलेख १ क बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जतिबेला उनी ३१ वर्षका थिए । हाल एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका उनी २०५६ सालदेखि अनेरास्ववियूमा संगठित भएर राजनीतिमा सक्रिय भएका हुन् ।
उनी २०५८ मा अनेरास्ववियू दैलेख जिल्ला कमिटी सदस्य, २०६० देखि २०६३ सम्म अनेरास्ववियू सुर्खेत जिल्ला कमिटी सदस्य, २०६२ मा शिक्षा क्याम्पस सुर्खेतमा स्ववियू सदस्य निर्वाचित, २०६३ मा अनेरास्ववियु सुर्खेत जिल्ला कमिटी सह–सचिव, २०६५ मा जिल्ला कमिटी सचिव, २०६५ मा शिक्षा क्याम्पस सुर्खेतमा स्ववियू सचिव, २०६७ मा अनेरास्ववियूको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेका थिए ।
त्यस्तै २०७१ मा एमालेको जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, तीन कार्यकाल पार्टीको प्रदेश कमिटी सदस्य रहेर काम गरेको सांगठनिक अनुभव छ । निरन्तर भूगोलमा रहेर सांगठनिक काममा सक्रिय रहने उनी कर्णालीका युवामाझ लोकप्रिय मानिन्छन् ।



कर्णाली समय । २७ मंसिर २०८२, शुक्रबार ११:२३