सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालय साझा थलो भएकाले सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगर ९ का जनप्रतिनिधि र समाजसेवीसंगको छलफलमा उपकुलपति गौतमले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनलाई केन्द्रमा राखेर अघि बढेकाले स्थानीयस्तरबाट सहयोगको खाँचो औंल्याए । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेतले बिए एलएलबी कार्यक्रम वीरेन्द्रनगर ९ चाँदनीचोकमा भवन निर्माणार्थ जग्गा प्राप्ति, कानूनी प्रावधानका बारेमा छलफल केन्द्रीत भएको जानकारी दिए ।
वीरेन्द्रनगर ९ का वडाध्यक्ष ऋषि गिरीको अध्यक्षता र वडा सदस्य भीम गुरुङले सञ्चालन गरेको छलफल कार्यक्रममा उपकुलपतिलाई सम्मान समेत गरिएको थियो । छलफलमा विश्वविद्यालय स्थापनार्थ मूल समितिका अध्यक्ष भूषणकुमार मानन्धर, नेपाली कांग्रेसका पूर्व सभापति डम्बर जिसी, एमाले प्रदेश सदस्य गणेश वली लगायतले विश्वविद्यालयको कानून कार्यक्रमको भवन निर्माणका लागि आवश्यक सहयोग रहने धारणा व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा विश्वविद्यालयका उपप्राध्यापकद्धय कमलराज लम्साल, खेमराज रावतको पनि उपस्थिति रहेको थियो ।
कर्णाली समय । २४ भाद्र २०८१, सोमबार १०:५६