कर्णालीमा रैथाने कृषि प्रशोधन केन्द्र निर्माण गरिँदै

सुर्खेत– कर्णाली प्रदेश सरकारले रैथाने एवं परम्परागत खाद्य वस्तुहरुको बजार व्यवस्थापन र प्रर्वद्धनका लागि प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरेको छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिक्री श्रृंखलालाई नाफामुखी बनाउन, त्यस्ता रैथाने उत्पादनको खरिद बिक्री सुनिश्चितता गर्ने उद्देश्यले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको जनाएको छ । मन्त्रालयका निमित्त सचिव परशुराम रावतका अनुसार सामग्री खरिद गरेर प्रशोधन केन्द्र निर्माण सुरु भएको हो । प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापनाका लागि चालू आवमा एक करोड ११ लाख बजेट विनियोजन गरेको छ । यद्यपि मन्त्रालयले उक्त बजेट अपुग हुने हुँदा तत्काल केन्द्र सञ्चालनका लागि दुई करोड ६५ लाख आवश्यक पर्ने बताएको छ ।

मन्त्रालयले निर्यात योग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुहरूको पहिचान झल्कने ‘मूल्यवान’ लोगो प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको छ । मन्त्रालयका निमित्त सचिव रावतले प्रशोधन केन्द्र सञ्चालन गरेर उत्पत्ति प्रमाणपत्र, ब्राण्डिङ, क्यूआर कोड, लेबलिङ तथा गुणस्तर लोगो सहितका सामग्री बजारमा पठाउन लागिएको जानकारी दिए । कर्णाली प्रदेशमा रैथाने बालीका रूपमा उत्पादन हुने नौ वटा रैथाने प्रजातिका बालीहरूमा चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र सिमी छन् । जसलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचिकृत गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७४ फागुनमा बसेको पहिलो बैठकले कर्णालीलाई अर्गानिक कृषिको आधारहरू तय गर्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन, २०७६ कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनमा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरूको उत्पादनका लागि छुटै लोगोको व्यवस्था गर्नुपर्ने उल्लेख छ । रैथाने बालीका रूपमा उल्लेखित नौ वटा बाली सूचीकृत गरी उक्त खाद्यान्न बिक्री गर्न लोगो प्रदान गरिएको छ ।

कर्णाली प्रदेश सरकारले संरक्षणको नीति लिएसंगै प्रदेशमा रैथाने वस्तुको उत्पादन बढेको मन्त्रालयले दाबी छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले अधिकांश रैथानेबालीका उत्पादन कोशेली गृह हुँदै प्रदेशबाहिर निर्यात हुने बताउँदै भने, ‘कर्णालीको रैथाने उत्पादनको माग काठमाडौं, पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान लगायतका सहरदेखि विदेशसम्म हुने गरेको छ ।’ कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ६५ रैथाने बाली बिक्री केन्द्रका रूपमा कोशेली घर सञ्चालनमा छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,