सुर्खेत– हुम्ला सदरमुकाम सिमकोट बल्ल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने चुवाखोला कर्णाली नदीमाथि बेलिब्रिज निर्माण कार्य पुरा भएपछि सिमकोट सडक सञ्जालमा जोडिएको हो ।

सरकारले बेलिब्रिज निर्माणको काम नेपाली सेनालाई दिएको थियो । २०८१ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले चुवाखोला कर्णाली नदीमा बेलिब्रिज बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जिम्मेवारी पाएको ४५ दिनमै सेनाले निर्माण सम्पन्न गरेको हो । निर्माण कार्यदलका प्रमुख मेजर रन्जित बुढाथोकीले पुल निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन हुन भने बाँकी रहेको जनाए । ‘बेलिब्रिज जडानको काम सकिएको छ, गाडीहरु वारपार गर्न थालिसकेका छन्,’ उनले भने ।
यो बेलिब्रिजले सिमकोटलाई मात्रै नभई उत्तरी छिमेकी चीनलाई समेत जोड्नेछ । कर्णाली करिडोर हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सिमाना हिल्सासम्म पुग्छ । सिमकोटदेखि हिल्सासम्म यातायातका साधन चल्दै आएपनि चुवाखोलामा पुल नहुँदा कर्णाली करिडोरले पूर्णता पाउन सकेको थिएन । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले चुवाखोलामा बेलिब्रिज बनेपछि सिमकोटको भाग्यरेखा चम्किएको भन्दै खुसी व्यक्त गरे । ‘यो हुम्ली जनताको मात्र नभई सिंगो कर्णालीबासीका लागि खुसीको कुरा हो, उनले भने, ‘कर्णाली प्रदेशको चीनसंग सिधा यातायात जोड्ने सपना बल्ल पुरा भयो ।’ उनका अनुसार यो पुलले तिब्बतको ताक्लाकोटदेखि भारतको रूपैडियासम्म सीधा यातायात सम्पर्क जोडेको छ ।
सिमकोटका व्यवसायी विजय लामाले गाडीलाई डोरीले बाँधेर तार्नुपर्ने, पसलका सामानका लागि चिनियाँ बजारमा नै निर्भर बन्नुपर्ने बाध्यता अन्त्य हुने बताए । खार्पुमा पुलबाटै गाडी वारपार हुँदा स्थानीयस्तरमा खुसीयाली छाएको छ । उनीहरुले यसलाई दशकौंदेखिको सपनाले सार्थकता पाएको टिप्पणी गरेका छन् । यस्तै २०८० पुसमा सलीसल्लामा बेलिब्रिज जडान भएसँगै हुम्लाको दक्षिणी भेग पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए ।



कर्णाली समय । ७ असार २०८२, शनिबार १७:५२