
सुर्खेत–राजनीतिबाट उद्यमशीलतामा फड्को मारेकी एमाले नेतृ शान्ता चौधरीको ‘शान्ताको अचार’ व्यवसायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ ।
वीरेन्द्रनगर सनिहल लाइनस्थित सुपरमार्केटमा शुक्रबार उक्त शाखाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले ‘शान्ताको अचार’ लाई देशव्यापी ब्राण्डका रूपमा स्थापित गरिने बताइन् । छोटो समयमै ‘शान्ताको अचार’ ले लोकप्रियता हासिल गरेकोमा खुसी व्यक्त गरिन् ।
उद्योगले हाल भेज र ननभेज गरी २२ प्रकारका विभिन्न अचारका परिकारहरू उत्पादन गर्दै आएको छ । सुर्खेतमा खगिसरा बुढाले शाखा सञ्चालनमा ल्याएकी हुन् ।
उनका अनुसार नेपालगञ्जमा शाखा विस्तार भइसकेको छ भने बुटवल र धनगढीमा पनि नयाँ आउटलेट खोल्ने तयारी भइरहेको छ । ‘शान्ताको अचार’ ले केवल व्यवसायिक सफलता मात्र नभई सामाजिक उत्तरदायित्व पनि बोकेको छ,’ उनले थपिन्, ‘अहिले प्रत्यक्ष रूपमा हाम्रो उद्योगमा ३५ जनाले रोजगारी पाएका छन्, जसमा एक जना पुरुषबाहेक सबै दिदीबहिनीहरू हुनुहुन्छ ।’
स्थानीय किसानका मुला, काँक्रो, लसुन, खुर्सानीलगायतका उत्पादनहरू सिधै खरिद गरेर अचार बनाइने हुँदा बजारको सुनिश्चितता भई उनीहरूलाई आर्थिक टेवा पुगेको चौधरीको भनाई थियो । मासिक १० देखि ३० लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको ‘शान्ताको अचार’ नेपालको घरेलु बजारमा मात्र सीमित छैन । यसलाई एक प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित गर्न चौधरी सक्रिय छिन् र उनको यो प्रयासले सार्थकता पाएको छ- अहिले ‘शान्ताको अचार’ विदेशका विभिन्न मुलुकसम्म पुगेको छ ।
पूर्व सांसद समेत रहेकी चौधरीले २०८० माघदेखि दाङको घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता गरेर अचार उद्योग सञ्चालनमा ल्याएकी थिइन् ।



कर्णाली समय । २९ कार्तिक २०८२, शुक्रबार १८:३१