सुर्खेत– द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताको लागि नेपाली इच्छुक युवतीहरुलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन १४ मे २०२४ (जेष्ठ १, २०८१) सम्म खुला रहनेछ ।
मिस नेपाल २०२४ को ग्रान्ड फिनाले अगस्ट ३, २०२४ (श्रावण १९, २०८१) मा गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । ग्रान्ड फिनालको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।
मिस नेपाल विजेताहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् जुन नेपालका लागि गौरवणीय पक्षहरु हुन् । मिस नेपाल इन्टरनेशनल २०२३– प्रसिद्धि शाह टोकियोमा अक्टोबर २६, २०२३ मा सम्पन्न मिस इन्टरनेशनलमा, मिस नेपाल अर्थ २०२३– रैना मजगैया भियतनाममा डिसेम्बर २०, २०२३ मा सम्पन्न मिस अर्थमा र मिस नेपाल वर्ल्ड २०२२– प्रियंका रानी जोशी भारतमा मार्च ९, २०२४ मा सम्पन्न मिस वर्ल्डमा सहभागी भइन् । मिस वल्र्ड प्रतियोगितामा मिस प्रियंका रानी जोशीले उत्कृष्ट ४० मा स्थान हासिल गर्दै एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटी विथ पर्पस प्रोजेक्ट जितिन् ।
यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।
यस वर्षको मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रायोजक रुपमा छ भने गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ सह प्रयोजकको रुपमा रहेको छ ।
प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरु खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौं लगायत विभिन्न शहरमा हुनेछ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । त्यहाँबाट छानिएका प्रतियोगिहरुले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् ।
कर्णाली समय । १० बैशाख २०८१, सोमबार १९:१७