डोल्पामा समान तीन जित-हार बेहोरेका दाजुभाई नै पहिलोपटक आमनेसामने

प्रकाश अधिकारी/ सुर्खेत– हिउँले सेताम्य डोल्पा यतिबेला असामान्य रूपमा तातेको छ । कठ्यांग्रिने जाडो, सुनसान बस्ती र शान्त हिमाली वातावरणबीच यसपटकको प्रतिनिधिसभा निर्वाचनले डोल्पालाई नयाँ किसिमको रोमाञ्च दिएको छ । निर्वाचनमा विरलै देखिने यस्तो दृश्यले डोल्पाली मतदाताहरुमा थप चासो बढाइदिएको छ । जसको कारण हो, सहोदर दाजुभाईबीचको चुनावी प्रतिस्पर्धा ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काइके गाउँपालिका–२ का स्वर्गीय लंकु बुढाका जेठा छोरा कर्णबहादुर बुढा र काइँला छोरा धनबहादुर बुढा आमनेसामने भएका छन् । घरको आँगन साझा, बाल्यकालका सम्झना साझा तर चुनावी एजेन्डा र राजनीतिक झण्डा फरक–फरक हुँदा यतिबेला डोल्पाको चुनावी माहोललाई थप रोचक बनाएको छ ।

कर्णबहादुर नेपाली कांग्रेसका उम्मेदवार हुन् भने धनबहादुर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मैदानमा छन् । कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्री चुनिएका कर्णबहादुर डोल्पाका पुराना राजनीतिज्ञमा गनिन्छन् । नेकपाका केन्द्रीय सदस्य धनबहादुर पछिल्ला वर्षहरूमा लगातार जित निकाल्दै डोल्पाको राजनीतिक केन्द्रमा स्थापित भएका नेता हुन् ।

कर्णबहादुरको राजनीतिक जीवनको सुरुवात राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएको हो । राजनीतिमा धनबहादुरलाई पहिलो प्रेरणा दिने व्यक्ति पनि कर्णबहादुर नै हुन । २०५१, २०५६ र २०६४ का निर्वाचनमा उनी मुख्य प्रतिद्धन्द्धीमै सीमित बनेका थिए । २०५१ मा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मोतिप्रसाद पहाडीले उनलाई पराजित गरे । २०५६ मा राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिए । उक्त निर्वाचनमा एमालेका नरबहादुर बुढाथोकीसँग उनी पराजित भए । २०६४ मा फेरि राप्रपाबाट लडेका उनी नेकपा (माओवादी) का रामबहादुर बोहोरासंग पराजित हुन पुगे । २०७६ सालदेखि उनले राप्रपा छाडेर कांग्रेस राजनीति रोजे ।

यता धनबहादुर भने २०७० यताका तीन संसदीय निर्वाचनमा लगातार विजयी हुँदै आए । एमालेले २०७० को चुनाव अघि राप्रपामा रहेका धनबहादुरलाई पार्टी प्रवेश गराएर टिकट दिएको थियो । २०७० को चुनावमा उनले माओवादीकी सत्या पहाडीलाई झण्डै चार हजार मतान्तरले पराजित गरे । २०७४ मा धनबहादुर पुनः बामगठबन्धनको तर्फबाट एमाले उम्मेदवार बने र कांग्रेसका अंगतबहादुर बुढालाई पराजित गरे । केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी पर्यटन राज्यमन्त्री बनेका थिए । २०७९ मा उनी एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा लागे । २०७९ मा एकीकृत समाजवादीबाट चुनाव लडेका उनले माओवादी र कांग्रेसको साथ पाएर उनले एमालेका गणेशबहादुर शाहीलाई ६ हजार मतान्तरले पराजित गरे । एकिकृत समाजवादी रोजेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी सहरी विकासमन्त्री भए ।
जुन पार्टीबाट लडेपनि लगातार जित निकाल्दा धनबहादुरलाई अहिले डोल्पाको राजनीतिक खेलाडी भनेर चिनिन्छ । उनी यसपटक नेकपाको तर्फबाट चुनाव चिन्ह तारा लिएर मैदानमा होमिएका छन् ।

डोल्पाको राजनीतिमा बुढा परिवारको प्रभाव पुरानै हो । २०४८ सालमा कांग्रेसबाट क्याबु बुढा निर्वाचित भएका थिए । २०७४ मा नन्दसिंह बुढा प्रदेशसभामा निर्वाचित भई पर्यटनमन्त्री बने । हाल कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढा छन् ।  व्यापार–व्यवसायमा स्थापित र आर्थिक रूपमा सम्पन्न बुढा परिवारको वरिपरि जिल्लाको राजनीति घुमिरहेको चर्चा चलिरहन्छ ।

तीन पटक पराजित दाजु र तीन पटक विजयी भाई अब कसले हार वा जितको ‘ह्याट्रिक’ कायम राख्छन् ? वा दाजुभाईको घम्साघम्सीमा एमालेले फाइदा लिन सक्ला ? यसको उत्तर फागुन २१ को मतपरिणामले दिनेछ । अघिल्ला निर्वाचनमा दाई प्रतिष्पर्धी नहुँदा सहज जित निकालेका धनबहादुरका लागि यो निर्वाचनमा कस्तो परिणाम आउँछ चासोको विषय बनेको छ ।

धनबहादुरले २०७९ कै निर्वाचनमा आफूलाई सहयोग गर्ने आश्वासन दिएपनि धोका दिएको र यसपटक पनि नेकपाबाट आफै उम्मेदवार बन्दा कर्णबहादुर चुनावी अभियानमा आक्रोशित सुनिन्छन् । तर भाई धनबहादुर भने संयमित भएर दाईको विरुद्ध अभियान चलाइरहेका छन् । कर्णबहादुरले जनताले आफूलाई इमान्दार र स्वच्छ छविको रुपमा चिनेकाले साथ दिने बताउँछन् । ‘उसले जिल्लामा राम्रो गरेको भए म चुनावमा आउन पर्थेन, यो पटक म चुनाव जित्छु, भाईको वर्चस्व तोड्छु’ कर्णबहादुरले भने, उसले ठाउँ ओगट्ने काममात्रै ग¥यो, डोल्पाको विकासमा ध्यान दिएन, मप्रति जनताको ठुलो आस्था र विश्वास पाएको छु, कसैले पनि नराम्रो भनेका छैनन् ।’ उनी आफ्नो प्रतिष्पर्धा भाईसंगै हुने बताउँछन् ।

धनबहादुर भने आफ्नो प्रतिष्पर्धा दाजुसंग नभई एमालेसंग हुने दाबी गर्छन् । धनबहादुर माओवादी र एकिकृत समाजवादी धारको राम्रो पकड भएकाले जित निकाल्ने दाबी गर्छन् । उनले जनताबाट पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साही बनेको प्रतिक्रिया दिए ।

दाजुभाईको घम्साघम्सीमा एमालेको दाउ

एमालेले जिल्ला अध्यक्ष लंक रोकायालाई उम्मेदवार बनाएको छ । ३५ वर्षीय उनी मुड्केचुला गाउँपालिकाका हुन । अघिल्ला दुई स्थानीय तहका निर्वाचनमा उनी गाउँपालिका अध्यक्ष उम्मेदवार थिए । २०७४ मा ५ मत र २०७९ मा ३७ मतान्तरले पराजित हुन पुगेका थिए । यसपटक उनी सांगठनिक भोट जोगाएर जित निकाल्ने दाउमा छन् । माथिल्लो डोल्पाभन्दा तल्लो डोल्पामा बढी मत भएकाले आफूलाई जित्न सहज हुने रोकायाको दाबी छ । उनका अनुसार माथिल्लो डोल्पामा ६ हजार मतदाता छन भने तल्लो डोल्पामा १८ हजार । १५ वर्षपछि तल्लो डोल्पाले प्रतिनिधिसभामा टिकट पाएकाले भेगीय सहानुभूति रहेको उनको भनाई छ । प्रलोपा उम्मेदवार विकास बुढाले उम्मेदवारी निष्क्रिय बनाउँदै एमालेलाई सघाउने निर्णय गरेको छ ।

२०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ एमालेले ६ हजार २९४, माओवादीले ४ हजार ७२१, कांग्रेसले ३ हजार ५९१, एकीकृत समाजवादीले १ हजार ८२१ मत पाएका थिए । यहाँ २०४८ सालमा कांग्रेसबाट क्याबु बुढाले चुनाव जितेपनि त्यसयता कांग्रेसले जित निकाल्न सकेको छैन् । कर्णबहादुरले कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै पार्टी राजनीतिमा सफलता प्राप्त गरेपनि आम चुनावको परिणामले उनको राजनीतिक भविष्यको निर्क्यौल गर्नेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,