दुर्गन्ध फैलिएको भन्दै वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनमा अवरोध

सुर्खेत– वीरेन्द्रनगर १ का बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध पु¥याएका छन् । स्थानीयले विभिन्न माग राखी तीन दिनदेखि फोहोरका गाडीहरु सोलीघोप्टेस्थित डम्पिङ साइट प्रवेशमा रोक लगाएका हुन् ।

स्थानीयले बलभद्र पुरीको संयोजकत्वमा १०६ सदस्यीय संघर्ष समिति बनाएर आन्दोलित भएका छन् । डम्पिङ क्षेत्रका प्रभावित स्थानीयले नगरपालिकाले आफूहरुको माग सम्बोेधन नगर्दासम्म आन्दोलन चलिरहने बताएका छन् । यदि माग पुरा नभए सधैंका लागि अवरोध गर्ने उनीहरुको चेतावनी छ । फोहोरका कारण बस्तीभरी दुर्गन्ध फैलिएको संघर्ष समितिका संयोजक पुरीले जानकारी दिए ।

स्थानीयबासीले कर्णाली बसपार्क निर्माण, खेलमैदान निर्माण, हटलाइन बाटो निर्माण, खानेपानीको श्रोत संरक्षण, वडा नम्वर १ देखि १४ जोड्ने सडक स्तरोन्नति, साबिकको २ नम्बर र १ नम्बर सीमाको सडक स्तरोन्नति, विश्वविद्यालयको भवन निर्माण, रिङरोडको काम तत्काल निर्माण, नगरपालिकाका पूर्वघोषित वडास्तरीय कामहरु सुरु गनुपर्ने लगायतका माग राखेका छन् ।

स्थानीयको भेलाले नगरपालिकासंग वार्ता गर्न समिति पनि गठन गरेका छन् । वार्ता टोलीमा बलभद्र पुरी, गणेश गुरुङ, ठाकुरप्राद न्यौपाने, चन्द्रबहादुर पुलामी, महेन्द्र सुनार, देवराज विक, लालबहादुर खत्री र नरजित नेपाली रहेका छन् । वीरेन्द्रनगरमा फोहोर फाल्न रोक लगाईएपछि फोहोर थुप्रो लाग्न थालेको छ । फोहोर व्यवस्थापनमा भइरहेको अवरोध र स्थानीबासीका माग पुरा गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।