
सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ७१ करोड २ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई भविष्यमा उपमहानगरपालिका बनाउने आधार तयार गर्ने, खानेपानी समस्याको दीर्घकालीन समाधान, शिक्षा सुधार, शहरी पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित बजेट ल्याइएको हो।
नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख निलकण्ठ खनालले प्रस्तुत गरेको बजेटमा कुल बजेटमध्ये ३ अर्ब २ करोड ७० लाख ८२ हजार ८ सय रुपैयाँ (६४ प्रतिशत) पुँजीगत र १ अर्ब ६८ करोड ३१ लाख ८९ हजार २ सय रुपैयाँ (३६ प्रतिशत) चालु खर्चका लागि विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षको बजेट तथा कार्यक्रमलाई “शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ र समुन्नत वीरेन्द्रनगर” भन्ने दीर्घकालीन सोचसँग जोडेको छ। बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, वातावरण संरक्षण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ।
बजेटको प्रमुख प्राथमिकता वीरेन्द्रनगरको दीर्घकालीन खानेपानी समस्या समाधान रहेको छ। उपत्यकाको खानेपानी अभाव हटाउन भेरी नदीबाट पानी ल्याउने लिफ्टिङ (पम्पिङ) आयोजनाका लागि १८ करोड रुपैयाँको म्याचिङ फन्ड व्यवस्था गरिएको छ। संघीय र प्रदेश सरकार तथा विकास साझेदारसँग सहकार्य गरेर आयोजना अघि बढाइने जनाइएको छ।
त्यसैगरी डिप बोरिङ, खानेपानी पाइपलाइन विस्तार, पुराना योजनाको मर्मत तथा प्रणाली सुधारका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षलाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै शिक्षा क्षेत्रमा विशेष लगानी गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, शैक्षिक पहुँच विस्तार तथा वीरेन्द्रनगरलाई प्रदेशकै शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
नगरस्तर र वडास्तरबाट थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने तथा गुणस्तरीय शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गरिने जनाइएको छ।
स्वास्थ्य क्षेत्रका लागि नगरपालिकाले २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ। साथै निर्माणाधीन महिला, बालबालिका तथा १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याउन थप २ करोड रुपैयाँ व्यवस्था गरिएको छ।
स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सक्षमता विकास र गुणस्तरीय सेवा विस्तारका कार्यक्रम पनि समेटिएका छन्।
कृषि तथा पशुपालनलाई व्यवसायिक र रोजगारमुखी बनाउने लक्ष्यसहित १ करोड रुपैयाँ बजेट छुट्याइएको छ। कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण, महिला सहभागिता वृद्धि तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिने भएको छ।
उद्यम विकास, सहकारी प्रवर्द्धन, घरेलु उद्योग तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिएको छ।
नगरपालिकाले सडक, नाला, सार्वजनिक संरचना तथा अन्य आधारभूत पूर्वाधार निर्माणका लागि प्रत्येक वडामा कम्तीमा ५० लाख रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरेको जनाएको छ।
राजधानी केन्द्रित शहरी सौन्दर्यका कार्यक्रमअन्तर्गत घण्टाघर पार्क, खुला क्षेत्र संरक्षण, पार्किङ स्थल निर्माण तथा शहरी व्यवस्थापनका योजनालाई निरन्तरता दिइनेछ। वडा स्तरीय योजना तथा कार्यक्रमका लागि मात्रै १६ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्रोतमै फोहोर वर्गीकरण, प्लास्टिकजन्य फोहोरको व्यवस्थापन तथा ल्याण्डफिल साइटमा प्रविधिको प्रयोग गरी चक्रीय अर्थतन्त्रको अवधारणा कार्यान्वयन गरिने जनाइएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ३३ करोड ६ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। कर प्रणाली सुधार, करको दायरा विस्तार तथा विद्युतीय राजस्व संकलन प्रणालीमार्फत आन्तरिक आय वृद्धि गर्ने योजना बजेटमा समेटिएको छ।
नगरपालिकाको कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रहेको छ। संघीय सरकारबाट २ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ, सामाजिक सुरक्षा अनुदानतर्फ ४३ करोड रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदान २४ करोड ६० लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँट २१ करोड ३६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ३ करोड ५३ लाख रुपैयाँ, सशर्त अनुदान ५० करोड ५३ लाख रुपैयाँ, राजस्व बाँडफाँट ४४ लाख रुपैयाँ तथा संघ–प्रदेश समपुरक र विशेष अनुदान ४ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख खनालले वीरेन्द्रनगरको बढ्दो शहरीकरणलाई अवसर र चुनौती दुवैका रूपमा लिँदै नगरलाई कर्णाली प्रदेशकै पहिलो उपमहानगरपालिका बनाउने आधार तयार गर्ने उद्देश्यका साथ बजेट ल्याइएको बताए। उनले खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनमा केन्द्रित योजनाले नगरको दीगो र सन्तुलित विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नगरपालिकाले आगामी वर्षको बजेटमार्फत वीरेन्द्रनगरलाई शिक्षा, प्रशासन र पर्यटनको केन्द्र तथा व्यवस्थित राजधानी शहरका रूपमा विकास गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ।



कर्णाली समय । १० असार २०८३, बुधबार २२:१४