‘काँक्रेविहार इतिहास अन्वेषण र आर्थिक विकासको केन्द्र बन्न सक्छ’

सुर्खेत- प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको आंगनमा यसको खोज, अनुसन्धानबारे चर्चा परिचर्चा भएको छ । वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा पहिलोपटक शुक्रबार आयोजित काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सवमा राजनीतिज्ञ, इतिहासविद् एवं अध्येताहरुले यसको ऐतिहासिकता र गरिमाबारे चर्चा गरे ।

महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताए । काँक्रेविहारको महत्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने उनको भनाई थियो । ‘काँक्रेविहारलाई लुम्बिनीसँग पर्यटकीय रूपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ’, मुख्यमन्त्री कँडेलले भने, काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो, जसलाई प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन गर्नसक्छ । उनले काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न सकिने उल्लेख गरे ।

महोत्सवमा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले काँक्रेविहारको ऐतिहासिक महत्वलगायतको प्रचार प्रसार तथा राष्ट्रिय तथा अन्तरष्ट्र्रियस्तरमा पहिचान स्थापितमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगर गुरुयोजनाबमोजिम कांक्रेविहार क्षेत्रको भौतिक विकास र पर्यटन प्रर्वद्धनका क्रियाकलापहरु सञ्चालन गरिरहेको बताइन् । संरक्षित वन क्षेत्र र पुरातत्व विभाग अन्तर्गतको सम्पदा भएकाले यहाँको विकासमा सजगता अपनाउनुपर्ने बताइन् । साथै यसलाई विश्व सम्पदा सूचीमा राख्न नगरपालिकाले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

महोत्सवका साथै युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन आयोजना गरिएको थियो । मान्नमी रिसर्च एण्ड पब्लिकेशन प्रालि र हिमालय सिल्करोड कन्सल्टेन्सी प्रालिले संयोजन तथा व्यवस्थापन गरेको महोत्सवमा इतिहासविद् प्रा डा राजाराम सुवेदी, पूर्वीय दर्शनका ज्ञाता प्रा डा कृष्णचन्द्र शर्मा, समाजशास्त्री प्रा डा पदमलाल देवकोटा, भाषा तथा साहित्य समालोचक डा महेन्द्रकुमार मल्लले कांक्रेविहारको ऐतिहासिक र गरिमाबारे चर्चा गरेका थिए । प्रा डा सुवेदीले काँक्रेविहारको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सन्दर्भ र पर्यटकीय महत्वसम्बन्धी गोष्ठीपत्र प्रस्तुत गरेका थिए । उनको गोष्ठीपत्रमाथि डा मल्ल, प्रा डा शर्मा र देवकोटाले टिप्पणी गरे ।

कार्यपत्र प्रस्तोता र टिप्पणीकारलाई मुख्यमन्त्री कँडेलले मायाको चिनो प्रदान गरेका थिए । महोत्वका साथै विद्यार्थी सम्मेलनमा नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको थियो । वडाध्यक्ष ऋषि गिरीको अध्यक्षतामा सम्पन्न काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव तथा युवा विद्यार्थी सम्मेलनमा समाजका विभिन्न क्षेत्रमा योगदान निर्वाह गरेका व्यक्तिलाई सम्मान गरिएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,