उपप्रधानमन्त्री सिंह भन्छन्- ‘पार्टी सभापतिमा उम्मेदवारी दिन्छु’

सुर्खेत– कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी १५ औं आफू पनि पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । ‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ, यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’ पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्ने उनको भनाई छ ।

महाधिवेशनलाई पार्टी बलियो बनाउने अवसरका रुपमा लिनुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले सरकार छिटो छिटो परिवर्तन हुँदा जनतामा निराशा बढेपछि बाध्य भएर दुई ठूला दल मिल्नुपरेको दाबी गरे । दिगो आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधन गर्ने उद्देश्यका साथ वर्तमान सरकार बनेको प्रष्ट पारे ।