
प्रकाश अधिकारी/ सुर्खेत– रुकुम पश्चिमको प्रतिनिधिसभा निर्वाचन यसपटक विशेष चासो र चर्चाको केन्द्रमा छ । २०६४ सालदेखि निरन्तर संसदीय निर्वाचनमा विजय हासिल गर्दै आएका जनार्दन शर्मा पुनः चुनावी मैदानमा उत्रिएका छन् । तर यसपटकको प्रतिस्पर्धा अघिल्ला चुनावभन्दा भिन्न छ । लामो समय माओवादी धारबाट राजनीति गर्दै आएका शर्मा अहिले फरक राजनीतिक पृष्ठभूमिबाट उम्मेदवारी दिएका छन्, जसले रुकुम पश्चिमको चुनावी समीकरणलाई नयाँ मोडमा पु¥याएको छ ।
यो निर्वाचनमा एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गरेको छ । एमालेको साथ र आफ्नो परम्परागत जनमतको आधारमा शर्मा विजयप्रति विश्वस्त देखिन्छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राप्त गर्दै शर्माका निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अहिले उनै देवकोटा आफ्नो चुनावी कमाण्डर बनेपछि शर्मा उत्साही छन् ।
शर्माले २०६४ मा २२ हजार ५७५, २०७० मा ३० हजार २७०, २०७४ मा ३४ हजार ४०२ र २०७९ मा ३९ हजार ५४९ मत प्राप्त गर्दै मतान्तर बढाएका थिए । गृह, अर्थ, ऊर्जा तथा जलस्रोत, शान्ति तथा पुनर्निर्माणमन्त्री जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनी पूर्वमाओवादी पृष्ठभूमिबाट निरन्तर चुनाव जित्ने सीमित नेतामध्येमै पर्दछन् । माओवादी युद्धकालमा जनमुक्ति सेनाको डेपुटी कमाण्डरदेखि पार्टीको उपमहासचिवसम्मको जिम्मेवारी बहन गरेका शर्माले अन्य जिल्लामा माओवादी केन्द्रको जनमत कमजोर बन्दै जाँदा पनि रुकुमपश्चिममा भने आफ्नो प्रभाव कायमै राखे । पछिल्लो समय माओवादी केन्द्रले एकिकृत समाजवादीलगायत दलसँग गरेको एकताप्रति असहमति जनाउँदै शर्मा पार्टीबाट अलग भएका थिए । त्यसपछि उनले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरी आफू संरक्षकको भूमिकामा बसे । यसपटक उनी हँसिया–हथौडाको साटो ‘एकल आँखा’ चुनाव चिन्ह लिएर मैदानमा छन् ।
आफू सधैँ रुकुम पश्चिमको साझा उम्मेदवारको रूपमा रहेको र राजनीतिक आस्थाका आधारमा कहिल्यै विभेद नगरेको उनी दाबी गर्छन् । ‘चुनाव जितेपछि म सबैको प्रतिनिधि हुँ, उनी भन्छन्, ‘विपक्षी दलका कार्यकर्ताले समेत ‘हामीलाई अभिभावक चाहियो’ भन्दै फोन गरेर ढाडस दिएका छन् ।’ कोरोना महामारीका बेला काठमाडौंबाट आएर आफै अस्पताल निर्माणका साथै भूकम्पका समयमा तत्काल उद्धार तथा पुनर्निर्माणमा खटिएको स्मरण गराउँदै उनले अझै पुनर्निर्माणका थुप्रै काम बाँकी रहेकाले जनताले आफ्नो आवश्यकता महसुस गरेको बताउँछन् ।
उनका मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा र कांग्रेसका राजु केसी उभिएका छन् । पार्टीमा अनल नामले चिनिने गोपाल पूर्वमाओवादी पृष्ठभूमिकै नेता हुन् । माओवादी केन्द्रको जिल्ला संयोजकदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका उनले कर्णाली प्रदेश सरकारमा आर्थिक मामिलामन्त्रीको रूपमा पनि काम गरिसकेका छन् । नेकपाले यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ लिएको छ । रुकुमपूर्वबाट उम्मेदवारी दिएका पार्टी संयोजक पुष्पकमल दाहालले पनि जनार्दनको विरासत तोड्न सक्रियता बढाएका छन् । नेकपा उम्मेदवार गोपाल शर्माले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । जनार्दनले आम रुकुमेली जनता, सहिद तथा घाइतेका परिवारलाई धोका दिएकाले यसपटक जनताको साथ नपाउने उनी बताउँछन् । आफूले जितेपछि मात्र खादा माला लगाउने घोषणा गर्दै उनले पार्टीको संगठन बलियो रहेको बताए । उनी भन्छन्, ‘म जितेपछि एक कार्यकाल मात्र बिताउने हो, पटक-पटक, सातौं आठौं पटक उम्मेदवार बन्ने चाहना राख्दिन, अरु साथीहरुलाई अवसर दिन्छु ।’ अघिल्ला निर्वाचनहरु उनी जनार्दनको निकट सहयोगी भएर काम गरेका थिए । अहिले जनार्दन र गोपालबीचको प्रतिष्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । धेरैले यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिष्पर्धा हुने आँकलन गर्छन् ।
तर कांग्रेस भने एमाले मैदानमा नहुँदा र माओवादी मत विभाजन हुँदा जित निकाल्ने दाउमा छ । यहाँ ११ उम्मेदवारमध्ये चार जना माओवादी मूलका छन् । रोचक के छ भने यसपटक चारै जना उम्मेदवारले हँसिया–हथौडा चिन्हभन्दा फरक चिन्ह लिएर चुनावी मैदान तताएका छन् । कांग्रेस पूर्वमाओवादी धारको मत विभाजन हुने आशंकासहित यही मौकालाई आफ्नो पक्षमा पार्ने दाउमा छ । मतदानको दिन नजिकिँदै गर्दा नेकपा, प्रलोपा र कांग्रेसले चुनावी अभियान आक्रामक बनाएका छन् । त्यस हिसाबले त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ ।
कांग्रेस उम्मेदवार राजु केसी नेविसंघको राजनीतिबाट उदाएका हुन् । पार्टीको जनसम्पर्क समन्वय समिति केन्द्रीय विभागमा क्रियाशिल उनी व्यवसायी समेत हुन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र आत्मनिर्भर रुकुम निर्माणलाई आफ्नो एजेन्डा बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट इन्जिनियर मानबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै उनले वैकल्पिक राजनीति र सुशासनलाई आफ्नो मूल मुद्दा बनाएका छन ।
यहाँ १ लाख ६६० मतदाता छन् । सबैभन्दा बढी मुसिकोटमा २३ हजार ३ र कम बाफीकोट गाउँपालिकामा १४ हजार ३० मतदाता छन् । त्यस्तै आठबिसकोट नगरपालिकामा २१ हजार ११० चौरजहारी नगरपालिकामा १९ हजार १३५, सानीभेरी गाउँपालिकामा १४ हजार ८७६ र त्रिवेणी गाउँपालिकामा १४ हजार ५०६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


कर्णाली समय । ३ फाल्गुन २०८२, आईतवार ११:४९