
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया बालिका इनिशा विकको हत्याप्रति नागरिक स्तरमा आक्रोश बढ्दै गएको छ । “हामी दाजुभाई” नामक संस्थाले उक्त घटनाप्रति गहिरो चिन्ता र आक्रोश व्यक्त गर्दै सत्य, जवाफदेहिता र न्यायको मागमा आफूहरू दृढतापूर्वक उभिएको जनाएको छ ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा घटनापछि देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा सामाजिक सञ्जालमा चलेका अभियानहरूले बालिका र महिलाविरुद्ध हुने हिंसाप्रति नागरिक समाज मौन नबस्ने स्पष्ट सन्देश दिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, इनिशा विकको हत्या कुनै पृथक घटना नभई नेपालमा देखिँदै आएको लैंगिक र जातीय आधारमा हुने हिंसाको व्यापक समस्यासँग जोडिएको विषय हो । यस्ता घटनामा पीडित परिवारहरूले न्यायका लागि लामो समय कुर्नुपर्ने र धेरै अवस्थामा न्याय नपाउने अवस्था रहेको छ, इनिशाको परिवारले पनि हस्तक्षेप वा ढिलाई बिना छिटो र निष्पक्ष अनुसन्धानको अपेक्षा राखेको छ ।”
हामी दाजुभाईले नेपाल सरकार तथा सम्बन्धित निकायहरूलाई घटनाको पारदर्शी, स्वतन्त्र र समयबद्ध अनुसन्धान सुनिश्चित गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । न्याय जात, वर्ग वा सामाजिक हैसियतका आधारमा फरक हुन नहुने भन्दै प्रत्येक जीवन र प्रत्येक बालिकालाई कानुनअन्तर्गत समान सुरक्षा र न्यायको हक रहेको उल्लेख गरिएको छ ।
यसैबीच, महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न पुरुषहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ । हामी दाजुभाई संस्थाले सामूहिक प्रयासबाट मात्रै इनिशा जस्ता बालिकाहरू सुरक्षित, सम्मानित र आशापूर्ण वातावरणमा बाँच्न सक्ने समाज निर्माण सम्भव हुने जनाएको छ ।



कर्णाली समय । २९ फाल्गुन २०८२, शुक्रबार १४:१६