बराहतालमा नमुना गाउँसभा : युवालाई सरकार सञ्चालन र नीति निर्माणको अभ्यास

सुर्खेत- बराहताल गाउँपालिकाले युवालाई स्थानीय सरकार सञ्चालन, गाउँसभाको कार्यप्रणाली, नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले नमुना युवा गाउँसभा सरकार सञ्चालन तालिम प्रदान गरेको छ । गाउँपालिकाको सभाहलमा साउन २५ र २६ गते सञ्चालन भएको तालिममा युवालाई स्थानीय सरकारको संरचना, अधिकार, जिम्मेवारी, नीति तथा कार्यक्रम, बजेट निर्माण, गाउँसभा सञ्चालन र विधेयक निर्माण तथा पारित गर्ने प्रक्रियाबारे प्रत्यक्ष अभ्यास गराइएको थियो ।

गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले युवा पुस्तामा स्थानीय सरकारका ऐन, कानुन र कार्यप्रक्रिया नबुझी आलोचना गर्ने प्रवृत्ति बढेकाले यस्ता कार्यक्रमले सरकार सञ्चालनको वास्तविक प्रक्रिया बुझ्न महत्वपूर्ण योगदान पुग्ने बताए । अध्यक्ष भण्डारीले सीमित स्रोतसाधनबाट गाउँपालिकाका असीमित आवश्यकता पूरा गर्न स्थानीय सरकारले प्रयास गरिरहेको उल्लेख गर्दै नीति तथा कार्यक्रम र बजेट निर्माणदेखि गाउँसभा सञ्चालनसम्मका प्रक्रियाबारे युवाले प्रत्यक्ष अभ्यासबाट बुझ्न आवश्यक रहेको धारणा राखे । उनले नमुना गाउँसभा अभ्यासबाट युवाले सीमित बजेट र स्रोतसाधनका बीच स्थानीय सरकारले कसरी नीति, कार्यक्रम र बजेट निर्माण गर्छ भन्ने जानकारी प्राप्त गरेको विश्वास व्यक्त गरे ।

“ऐन, कानुन र प्रक्रिया नबुझी गरिने टिप्पणी तथा आलोचनाले जनतामा भ्रम सिर्जना गर्न सक्छ,” उनले भने, “यस्ता नमुना गाउँसभा तथा सरकार सञ्चालनका कार्यक्रमले युवालाई स्थानीय सरकार कसरी सञ्चालन हुन्छ भन्ने बुझ्न सहयोग पुग्छ ।” उनले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्दै आगामी निर्वाचनमा सहभागी भएर जनप्रतिनिधिका रूपमा नेतृत्व गर्न युवालाई आग्रह गरे । जनप्रतिनिधि हुँदैमा आफ्नो कार्यक्षेत्र र अधिकारभन्दा बाहिर गएर काम गर्न नसकिने उल्लेख गर्दै उनले कानुन र प्रक्रियाको सीमाभित्र रहेर मात्रै स्थानीय सरकार सञ्चालन हुने स्पष्ट पारे ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले आफूहरू पनि पर्याप्त सिकाइबिना नै जनप्रतिनिधिका रूपमा निर्वाचित भएर गाउँसभा र गाउँपालिका सञ्चालनमा लागेको अनुभव सुनाउँदै अहिलेका सहभागी युवाले यस्तो अवसर पाएको बताइन् । “हामीले सिकाइबिनै जनप्रतिनिधि भएर गाउँसभा र गाउँपालिका सञ्चालन गर्नुपरेको थियो,” उनले भनिन्, “तर अहिलेका युवाले जनप्रतिनिधि बन्नुअघि नै सरकार कसरी चल्छ, गाउँसभा कसरी सञ्चालन हुन्छ भन्ने सिक्ने अवसर पाएका छन् ।” उपाध्यक्ष पुन मगरले तालिमले युवालाई स्थानीय सरकार सञ्चालनका प्रक्रियाबारे ज्ञान दिनुका साथै नेतृत्व विकास र सीप विकासमा समेत सहयोग पुग्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले दुई दिनको अवधिमा प्रयोगात्मक अभ्यास र प्रदर्शनमार्फत सहभागी युवाले स्थानीय सरकार सञ्चालनका धेरै विषय सिक्न पाएको विश्वास व्यक्त गरे । किताबमा पढ्नेभन्दा व्यवहारिक अभ्यासबाट गाउँसभा सञ्चालन, नीति तथा कार्यक्रम तथा बजेटमाथिको छलफललगायतका विषय बुझ्न सहज भएको उनको भनाई थियो ।

समापन कार्यक्रममा बराहताल गाउँपालिका–३ का वडाध्यक्ष शेरबहादुर पुनले तालिमबाट जनप्रतिनिधिको कामको लेखाजोखा गर्ने आधार तथा सरकार र गाउँसभाले कसरी काम गर्छ भन्ने विषयमा सहभागी युवाले ज्ञान हासिल गरेको धारणा राखे ।

बराहताल गाउँपालिकाको सभाहलमा साउन २५ र २६ गते सञ्चालन गरिएको तालिममा सहभागीले नमुना युवा गाउँसभाको अभ्यास गरेका थिए । अभ्यासका क्रममा पद्मा पुन मगरलाई नमुना गाउँसभाको अध्यक्ष र युवराज बडुवाललाई उपाध्यक्ष चयन गरिएको थियो । नमुना गाउँसभामा गाउँपालिकाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफलसमेत गरिएको थियो । छलफलमा सभाका सदस्य होमराज थापा, पार्वती पोखरेल, धनमाया सुनार र प्रतिमा विकले सहभागिता जनाएका थिए । त्यसैगरी बजेटमाथिको छलफलमा कल्पना सारुमगर, सविबहादुर बुढा र चन्द्रा थापामगरले आफ्ना धारणा राखेका थिए ।

अभ्यासकै क्रममा पालिकास्तरीय युवा परिषद् विधेयकसमेत नमुना गाउँसभामा टेबुल गरी छलफलपछि पारित गरिएको थियो । यसले युवालाई स्थानीय तहमा विधेयक कसरी प्रस्तुत, छलफल र पारित गरिन्छ भन्ने प्रक्रियाको प्रयोगात्मक अनुभव प्रदान गरेको जनाइएको छ । तालिममा नमुना युवा, गाउँसभा र स्थानीय सरकारको संरचना तथा कार्यप्रणाली, स्थानीय तहको बजेट तर्जुमाका चरण, युवाको भूमिका, गाउँसभा पदाधिकारी चयन, सपथ, गाउँसभा सञ्चालन कार्यविधि तथा बैठकका नियमबारे प्रशिक्षण दिइएको थियो । सहभागीलाई समूहगत छलफलमार्फत नीति तथा कार्यक्रम र बजेट निर्माणको अभ्याससमेत गराइएको थियो ।

तालिममा प्रमुख सहजकर्ता राकेश पौडेल र सहजकर्ता प्रकाश अधिकारी रहेका थिए । तालिम कार्यक्रमको सञ्चालन तथा सहजीकरण गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी सम्झना त्यागीले गरेकी थिइन् । तालिममा सहभागीलाई गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी, उपाध्यक्ष लक्ष्मी पुनमगर र प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले प्रमाणपत्र प्रदान गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,