
सुर्खेत- चौकुने गाउँपालिकामा तीन दिने प्राथमिक आँखा उपचार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ फागुन ९, १० र ११ गते सञ्चालन गरिएको उक्त तालिममा महिला स्वास्थ्य स्वयंसेविका र शिक्षक प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष खड्क वि.क. विवसको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटी चौकुने उपशाखाका सभापति चेत बहादुर वि.सी.को सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा ३२ जना महिला स्वास्थ्य स्वयंसेविका र ४३ जना शिक्षक प्रतिनिधि गरी कुल ७५ जनालाई छुट्टाछुट्टै समूहमा तालिम प्रदान गरिएको थियो।
प्राथमिक आँखा उपचार तालिमको मुख्य उद्देश्य विद्यालय तथा समुदाय स्तरमा आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचारतर्फ मार्गदर्शन गर्नु रहेको थियो। विशेषगरी बालबालिकामा देखिने दृष्टि कमजोरी छिट्टै पहिचान गरी शिक्षण–सिकाइ प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। तालिममार्फत शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका प्रतिनिधिहरूलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गरिएको थियो। समयमै उपचार नपाउँदा हुन सक्ने जटिलता तथा स्थायी क्षति न्यूनीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
तालिमअन्तर्गत फागुन ९ गते महिला स्वास्थ्य स्वयंसेविकाहरू, १० गते वडा नं. ४, ५, ६, ७, ८, ९ र १० का शिक्षक प्रतिनिधिहरू तथा ११ गते वडा नं. १, २ र ३ का शिक्षक प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका गगन बहादुर पाण्डे, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क. तथा उपाध्यक्ष नरबहादुर बान्तोलाको समेत सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले विद्यालय तथा समुदाय स्तरमै आँखासम्बन्धी समस्या पहिचान र सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रम प्रभावकारी र समयानुकूल रहेको उल्लेख गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए। बालबालिकाको दृष्टि सुरक्षाले उनीहरूको शैक्षिक प्रगति र उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस्ता तालिमलाई निरन्तरता दिन आग्रह गरिएको थियो। समापन समारोहमा सहभागीहरूले सिकेका ज्ञान तथा सीप व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल, च्यारिटी फाउण्डेशन र चौकुने गाउँपालिकाबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। वडा नं. ४, बिजौरा स्थित आँखा उपचार केन्द्र स्थापना गर्ने उद्देश्यसहित सम्पन्न उक्त समझदारी पत्रमा गाउँपालिका अध्यक्ष खड्क वि.क. विवस, सुर्खेत आँखा अस्पतालका प्रतिनिधि रामलाल आचार्य तथा च्यारिटी फाउण्डेशनका तर्फबाट डा. विद्या पन्तले हस्ताक्षर गरेका हुन्।
सम्झौता कार्यक्रममा सुर्खेत आँखा अस्पतालका सञ्चालक समिति संयोजक रामलाल आचार्य, व्यवस्थापक घन बहादुर थापा तथा नेत्र अधिकृत प्रेम दीक्षितलगायतको उपस्थिति रहेको थियो। समझदारीसँगै चौकुनेमा आँखा उपचार सेवा विस्तार हुने विश्वास लिइएको छ।


कर्णाली समय । ११ फाल्गुन २०८२, सोमबार २०:४८