
सुर्खेत- सुर्खेतका सर्जक धर्मराज गिरी फेरि एकपटक मौलिक तीज गीतमार्फत दर्शक–श्रोतामाझ आएका छन्। हरितालिका तीज–२०८३ को अवसर पारेर उनले सार्वजनिक गरेको नयाँ गीत ‘झरीझैँ आँसु’ ले तीजको मौलिक स्वाद, नारी मनको संवेदना र नेपाली समाजको सांस्कृतिक आत्मालाई एकैसाथ बोकेको छ।
पछिल्ला केही वर्षयता तीज गीतका नाममा भड्किलो प्रस्तुति र बजारमुखी प्रवृत्ति हावी भइरहेका बेला गिरीको यो सिर्जनाले भने परम्परागत नेपाली तीजको भावभूमिलाई पुनः स्मरण गराउने प्रयास गरेको छ। नारीका पीडा, आशा, समर्पण र संवेदनालाई गीतले सहज र मार्मिक ढंगले अभिव्यक्त गरेको छ।
सुर्खेतलाई आफ्नो सिर्जनाको केन्द्र बनाउँदै आएका गिरीले हरेक वर्ष सामाजिक चेतना, नेपाली मौलिकता र लोकसंस्कृतिलाई केन्द्रमा राखेर तीज गीत सार्वजनिक गर्ने परम्परा नै बसालेका छन्। ‘झरीझैँ आँसु’ पनि त्यही यात्राको नयाँ कडी बनेर आएको हो।
गीतमा नेपाली लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय गायिका टिका पुनको सुमधुर स्वर रहेको छ। शब्द, लय तथा संगीत स्वयं धर्मराज गिरीकै हो। संगीत संयोजन झलक सङ्गीतमले गरेका छन् भने डिजिटल रेकर्डिङ रमेश खड्काले गरेका हुन्। गीतको मिश्रण तथा मास्टरिङ बिनोद परियारले गरेका छन्।
गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। निर्मल प्याकुरेलको निर्देशन र दृश्य संयोजनमा तयार पारिएको भिडियोमा प्रकृति, दिप्ती र कल्पनालगायत कलाकारहरूको अभिनयले गीतको भावलाई जीवन्त बनाएको छ। ग्रामीण परिवेश, नेपाली संस्कृतिका रङ र तीजको आत्मीय वातावरणलाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
सार्वजनिक कार्यक्रममा सर्जक गिरीले तीज गीतको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताए। “आज तीजका नाममा भड्किला र विकृत गीतहरूको बाढी आएको छ। हाम्रो तीज र चाडपर्वका गीतमा आफ्नै माटोको सुगन्ध, आफ्नै संस्कृति र मौलिकता हुनुपर्छ भन्ने मेरो सधैँको प्रयास हो,” उनले भने, तीज केवल रमाइलो र नाचगानको पर्व मात्र नभई नेपाली महिलाको भावना, संघर्ष, आत्मीयता र सामाजिक यथार्थ अभिव्यक्त गर्ने सांस्कृतिक उत्सव पनि हो। ‘झरीझैँ आँसु’ ले यही भावलाई आधुनिक प्रस्तुतिसँग जोड्दै मौलिक लोकसङ्गीतप्रेमीका लागि नयाँ उपहार दिएको छ।
भिडियो लिंक यहाँ क्लिक गर्नुस:



कर्णाली समय । १९ श्रावण २०८३, मंगलवार २२:३५