कर्णाली सरकारबाट बाहिरियो माओवादी

सुर्खेत- कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्नुपूर्व मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाए ।

सरकारमा माओवादी केन्द्रको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार थिए । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो ।

केन्द्रमा एमाले माओवादी गठबन्धन बनेसंगै कर्णालीमा एमाले नेतृत्वको सरकारमा माओवादीले वैशाख १८ मन्त्री सिफारिस गरेको थियो । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।

२०७४ साल यता कर्णालीमा माओवादी पहिलोपटक प्रतिपक्षमा बस्दैछ ।