वीरेन्द्रनगर बन्यो पूर्ण खोप सुनिश्चततायुक्त पालिका, असार २३ मा जिल्लालाई घोषणा गरिँदै

सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाले पाँच वर्षमुनिका सबै बालबालिकामा नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पालिका घोषणा हासिल गरेको छ ।

राष्ट्रिय खोप कार्यक्रमअनुसार सबै मापदण्ड पूरा गरेपछि आयोजित विशेष समारोहबीच नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पालिकाको मान्यता प्रदान गरिएको हो । नगरका सबै १६ वटै वडा यसअघि नै पूर्ण खोप सुनिश्चित वडा घोषणा भइसकेपछि पालिकाले आवश्यक प्रक्रिया पूरा गर्दै यो उपलब्धि हासिल गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र गिरीका अनुसार जन्मेदेखि १५ महिनाभित्रका २ हजार ४ सय १७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै नियमित खोप प्राप्त गरेका छन् । सर्वेक्षणका क्रममा छुटेका थप १५ जना बालबालिकालाई पनि खोप लगाइएको छ । त्यसैगरी १६ देखि ५९ महिनासम्मका ७ हजार ६ सय ८ जना बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेका छन् भने अभियानका क्रममा पहिचान भएका थप ६९ जना छुटेका बालबालिकालाई समेत खोप लगाएर पूर्ण खोप सुनिश्चित गरिएको जनाए । गिरीले राष्ट्रिय मापदण्डअनुसार कुनै कारणले नियमित खोप छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई खोज तथा खोप अभियानमार्फत पहिचान गरी सबै मात्रा पूरा गरेपछि मात्रै पूर्ण खोप सुनिश्चितता घोषणा गर्न पाइने व्यवस्था रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष गंगाराम सुनारले प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै सरोकारवालाको निरन्तर सक्रियता आवश्यक रहेको बताए । बढ्दो बसाइँसराइका कारण विशेषगरी शहरी क्षेत्रमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न थप मेहनत आवश्यक रहेको उनको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पूर्ण खोप सुनिश्चितता घोषणा नगरको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यसको दिगोपना कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन् । उनले यो सफलता स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सम्पूर्ण नागरिकको सामूहिक मेहनतको परिणाम भएको बताइन् । नगरप्रमुख ढकालले आगामी दिनमा पनि कुनै बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका सदस्य मधुवन विसीले हरेक बालबालिकाले समयमै खोप पाउने वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि र खोप अभियानको प्रभावकारी कार्यान्वयनका लागि सञ्चार क्षेत्रले निरन्तर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै गए पनि स्वास्थ्य सूचकाङ्कमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले अझ जिम्मेवार र प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमका अवसरमा ६० वर्ष उमेर पूरा गरी सेवाबाट अवकाश प्राप्त गरेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई जनही ५० हजार रुपैयाँ सहित सम्मानपूर्वक बिदाइ गरिएको थियो । स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका अन्य दुई कर्मचारीलाई पनि सम्मानसहित बिदाइ गरिएको छ ।

पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने नगरका १६ वटै वडा अध्यक्ष, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । यसैबीच, सुर्खेत जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितताका आवश्यक मापदण्ड पूरा गरिसकेकाले आगामी असार २३ गते जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,