सुर्खेत- दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १८ वटा गौरवका योजनाहरू समावेश गरिएको छ ।

गौरव योजनाहरूमा जंगलमा फिरन्ते जीवन यापन गर्दै आएका राउटे समुदायका लागि स्थायी नमूना बसोबासको व्यवस्था मुख्य प्राथमिकताका रूपमा उल्लेख गरिएको छ । यसअघि नै गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र वितरण गरी अभिलेख संकलन गरिसकेको छ ।
गाउँपालिकाले एक घर, एक धारा एक घर, एक रोजगारू कार्यक्रम अघि बढाउने योजना बनाएको छ । भौतिक, मानव र दीगो विकासमा केन्द्रित नीति तथा कार्यक्रमहरू मार्फत पूर्ण सरसफाइ तथा सुरक्षित खानेपानीयुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको अध्यक्ष विसीले जानकारी दिए । एक वडा, एक उद्योग र एक टोल, एक उत्पादन कार्यक्रम, टोल विकास संस्थामार्फत श्रम सहभागिता अभिवृद्धि, गुराँस गौरव मार्गको निर्माण तथा कृषि विकास र अनुसन्धान केन्द्रसँगै टिसु कल्चर ल्याब सञ्चालन पनि आगामी वर्षको योजनामा समावेश छन् ।
यसबाहेक, शून्य भ्रष्टाचारू र बेरुजु नियन्त्रण नीतिसमेत ल्याइएको छ । गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालन, ५ शैयाको आयुर्वेद अस्पताल निर्माण, योगा हल, हेल्थ सेन्टर, खुला व्यायामशाला तथा डिजिटल गाउँपालिका र लेस पेपर कार्यालय स्थापना गर्ने योजना अघि सारेको छ । बाँझो जमिनको उपयोग, उत्पादनमा सहयोग, कृषकसँग अध्यक्ष कार्यक्रम, तथा गुराँसको सान, रैथाने पहिचान अभियानसमेत नीति कार्यक्रममा समावेश गरिएको छ ।
यसैबीच, गुराँस गाउँपालिकाले आव २०८२–०८३ का लागि ७३ करोड ६१ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँको बजेट सार्वजनिक गरिन् ।बजेटले समृद्ध, समुन्नत, प्रविधिमैत्री र पर्यटनमैत्री गाउँपालिकाको निर्माण गर्ने सोच र आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ ।
किसानको हक हित संरक्षण संबद्र्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भुउपयोग नीतिको अवलम्बन गरी कृषिको व्यवसायीकरण विविधिकरण र बजारीकरण गरी कृषकको अवस्था समुन्नत र पेशा सम्मानजनक बनाउने र आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता जवाफदेहीता र प्रतिस्पर्धाको प्रबद्र्धन गर्नेगरी बजेट विनियोजन गरिएको उपाध्यक्ष खड्का बताइन् ।
गाउँपालिकाका सामाजिक साँस्कृतिक धार्मिक सम्पदा र असल संस्कारको संरक्षण र प्रबद्र्धनमार्फत् धार्मिक साँस्कृतिक पर्यटनको विकास गर्ने र गरिबीको अन्त्य र पिछडिएको क्षेत्र वर्ग र समुदायको उत्थान गर्न बजेट विनियोजन गरिएको छ । शिक्षालाई वैज्ञानिक व्यवहारिक तथा प्रविधिमैत्री बनाई सक्षम जनशक्ति निर्माणको आधार तयार गर्ने, विधिको शासन सार्वजनिक सेवालाई प्रभावकारी जवाफदेही जनमुखी छिटो छरितो र कम लागतमा उपलब्ध गराउनेगरी बजेट विनियोजन गरिएको छ ।


कर्णाली समय । ११ असार २०८२, बुधबार १७:२५